Logo

जनता समाजवादी पार्टी कहाँ अड्कियो ?



साउन १०, काठमाण्डौ । राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीबीच एकीकरण भइ बनेको दल जनता समाजवादी पार्टी नेपाल गत जेठ २५ गते आइतबार निर्वाचन आयोगमा दर्ता भयो । र असार २५ गते औपचारिक रुपमा आयोगबाट मान्यता पायो । जसमा महन्थ ठाकुर र उपेन्द्र यादव केन्द्रिय अध्यक्ष रहने उल्लेख छ । दल दर्ता गर्दा डा.बाबुराम भट्टराई सहित ३ अध्यक्ष रहने गरी नाम राखिए पनि अन्तिममा डा. भट्टराईको नाम भने हटाइएको थियो ।

५१ केन्द्रीय सदस्य रहने गरी दल दर्ता भएपनि पार्टीका धेरै नेताहरुको उचित कार्यविभाजन नभएको भन्दै यतिबेला नेताहरुविच असन्तुष्टि चुलिएको छ । जसका कारण एकताको लामो समय बितिसक्दा पनि पार्टीको केन्द्रदेखि स्थानीय तहसम्म पार्टी एकताको काम सुरु हुनै सकेको छैन । दुई पार्टीका शीर्ष नेताहरुले एकीकरण गर्ने सैद्धान्तिक निर्णय गरे पनि केन्द्रिय समितिबाट निर्णय गराउन बाँकी नै छ । दुवै दलको त्यसबारेमा अहिलेसम्म तयारी भने त्यति देखिदैन । तर यता जनता समाजवादी पार्टीका अध्यक्ष महन्त ठाकुरले बैैचारिक, राजनैतिक, संगठनात्मक र भावनात्मक पक्ष मिलाउन छलफल भइरहेको बताएका छन् ।

नेताहरुको पदीय व्यवस्थापनमै कुरा नमिल्दा एकता प्रक्रिया लम्बिएको देखिन्छ । तर विचार र सिद्धान्त कस्तो बनाउने भन्नेमा अहिले बहस जारी रहेको नेता राजेन्द्र श्रेष्ठ बताउँछन् । ५१ सदस्यीय कार्यकारि समिति बनाएर एकीकरण भएको सो पार्टीले निर्वाचन आयोगबाट हालै आधिकारिता प्राप्त गरेको छ ।

अहिले कार्यकारिणी समिति ५१ सदस्यीय बनाए पनि पार्टीको अन्तरिम विधानमा ५३ सदस्यको व्यवस्था गरिएको छ । तर समाजवादी पार्टीबाट राखिने १ सिट खाली छ भने भविष्यमा कुनै पार्टीसंग एकिकरण भएमा त्यसलाई समावेश गराउने उदेश्यले १ सिट गरी जम्मा २ सिट खाली राखेका छन । दुई पार्टीका शीर्ष नेताहरुले एकीकरण गर्ने सैद्धान्तिक निर्णय गरे पनि केन्द्रिय समितिबाट निर्णय गराउन बाँकी नै छ ।



प्रतिक्रिया दिनुहोस्