काठमाडौं, ११ साउन । पत्नी हत्याका दोषी पूर्व डिआइजी रञ्जन कोइरालाको सजाय घटाउने सर्वोच्च अदालतको फैसलाउपर परेको पुनरावलोकन निवेदनमाथि आजबाट सुनुवाई हुने भएको छ । बिहिबार सरकारी वकिलको कार्यालयका तर्फबाट परेको निवेदनमा आज पेसी तोकिएको हो ।
रञ्जन ८ साउनमा थुनामुक्त भएपछि सजाय घटाउने सर्वोच्च अदालतको फैसला विवादमा परेको थियो । पत्नी हत्याका दोषीको सजाय घटाएको भन्दै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश तेजबहादुर केसी समेतलाई विवादमा परेका थिए ।
पुनरावलोकनको निवेदन परेलगत्तै सुनुवाईको पेशी राखिएपछि यो मुद्दा छिट्टै टुंगोमा पुग्ने अपेक्षा गरिएको छ । सर्वत्र चासो र आलोचनापछि सर्वोच्चले फैसला उल्टाउनसक्ने संकेतहरु समेत मिलेको छ । ८ साउनमै महान्यायाधिवक्ता कार्यालयले सरकारी वकिलको कार्यालयमार्फत् पुनरावलोकनको निवेदन दिएको थियो ।
प्रधानन्यायाधीश जबराको बेञ्चले गरेको आदेश उपर पुनरावलोकनसम्बन्धी निवेदनको पेशी उनी स्वयंले नै तोकेर तीन सदस्यीय इजलास गठन हुनेछ । निवेदनमाथि कारबाही हुँदा फैसला सच्चिने हो या होइन ? प्रश्न उठेको छ । तर, निवेदनउपर तत्काल पेशी तोकिएको र न्यायालय नै विवादमा पर्ने गरी सर्वत्र विरोध भएपछि दबाब बढेको छ । पुनरावलोकनबाट सर्वोच्चको फैसला नै सदर हुने सम्भावना कठिन छ । फैसला उल्टिएमा रञ्जन फेरि जेल जानुपर्ने हुन्छ ।
साँढे आठ वर्ष जेल सजाय काटेर थुनामुक्त भएका रञ्जन कोइरालाको जघन्य अपराधमा सर्वोच्चका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीले जिल्ला र पुनरावेदनको सर्वस्वसहित जन्मकैदको फैसला घटाएर आठ वर्ष छ महिना सजाय कायमको फैसला गरेका थिए । सोही आधारमा आज रञ्जन छुटेका थिए ।
सशस्त्र प्रहरी बलका तत्कालिन डिआइजी रञ्जन कोइरालाले पत्नी गीता ढकालको २०६८ साल पौषमा हत्या गरी शव मकवानपुरको टिस्टुङ लगी जलाएका थिए । आधा जलेको गीताको शरीर भेटिएको थियो । उनलाई ८ माघ २०६८ मा पक्राऊ गरिएको थियो ।
काठमाडौं जिल्ला अदालतले ७ वैशाख २०७१ मा सर्वश्वसहित जन्मकैदको फैसला सुनाएको थियो । फैसला चित्त नबुझेको भन्दै रञ्जनले उच्च अदालत पाटनमा पुनरावेदन दिएपनि २३ मंसिर २०७२ मा जिल्लाकै फैसला सदर गरिदियो । तर, सर्वोच्च अदालतले साँढे ११ वर्ष कैद मिनाहा गर्ने फैसला सुनायो । त्यसपछि ८ साउनमा छुटेका रञ्जनको विषयमा सर्वत्र चासो भएको थियो ।