Logo

पूर्वगृहमन्त्री जोशीसहित तीन नेतालाई काँग्रेसबाट निस्काशन गरेको भन्दै डा. शेखर कोइराला असन्तुष्ट



काठमाडौं, ११ साउन । पूर्वगृहमन्त्री गोविन्दराज जोशीसहित तीनजना नेताहरुलाई नेपाली काँग्रेबाट निस्काशन गरेकोमा काँग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइराला असन्तुष्ट भएका छन् । उनले जोशीसहितका नेतालाई आधारहीन र मनगढन्ते तर्क अगाडि सारेर निष्काशन गरिएको भन्दै दुर्भाग्यपूर्ण कदम भनेका छन् ।

डा. कोइरालाले फेसबुकमा धारणा सार्वजनिक गर्दै निस्काशित नेताहरुले पार्टी र लोकतन्त्रका पक्षमा बगाएको रगत पसिनाको अवमूल्यन गर्ने काम भएको टिप्पणी गरेका छन् । काँग्रेसले अन्य पार्टीबाट प्रवेश गराइरहँदा आफ्नो सम्पूर्ण जीवत पार्टीमा व्यतीत गरेका वरिष्ठ नेताहरुलाई निस्काशन गर्दा गलत सन्देश जाने समेत तर्क गरेका छन् ।

यसअघि हिजो बसेको काँग्रेस केन्द्रीय अनुशासन समितिको बैठकले जोशीसहित पूर्व राज्यमन्त्री एवं महासमिति सदस्य पुष्करनाथ ओझा र डडेल्धुराका जिल्ला कार्यालय सचिव रामबहादुर बिष्टलाई पाँच वर्षसम्म साधारण सदस्य समेत नहुने गरी निस्काशन गरेको थियो । अनुशासन समितिका संयोजक आङ्दम्बेसहित सदस्यहरु देवेन्द्रराज कँडेल, किशोरसिंह राठौर, धनराज गुरुङ र उमाकान्त चौधरी उक्त बैठकमा सहभागी थिए ।

डा. कोइरालाले फेसबुकमा लेखेका छन्ः एकातिर हामी अन्य पार्टीबाट नेपाली कांग्रेसमा प्रवेश गराउदैछौं अर्को तिर आफ्नो सम्पूर्ण जीवन पार्टीमा व्यतीत गरेका बरिष्ठ नेताहरूलाई पार्टीबाट निष्कासन गर्छौं। यसले पार्टी र कार्यकर्तामा के सन्देश जान्छ? आधारहीन र मनगढन्ते तर्क अगाडी सारेर गोविन्दराज जोशी, पुष्करनाथ ओझा र रामबहादुर बिष्टलाई कांग्रेस पार्टीबाट निष्कासन गरिनु दुर्भाग्य हो। उहाँहरूले पार्टी र लोकतन्त्रका पक्षमा बगाउनुभएको रगत पसिनाको अवमूल्यन गर्ने काम भएको छ।



प्रतिक्रिया दिनुहोस्