Logo

दमौली–डुम्रे सडकखण्ड एकतर्फी सञ्चालनमा



तनहुँ, ११ साउन: पृथ्वी राजमार्गअन्तर्गत पर्ने तनहुँको दमौली–डुम्रे सडक खण्डमा शनिबार राति १२ बजेदेखि एकतर्फी सवारी साधान सञ्चालनमा आएको छ । शनिबार बिहान ६ बजेदेखि राति १२ बजेसम्म अहोरात्र खटेर वैकल्पिक मार्ग निर्माण गरेपछि एकतर्फी सवारी साधान सञ्चालनमा ल्याइएको हो ।

जिल्लाको बन्दीपुर–१ नाहालास्थित पृथ्वी राजमार्गमा पहिरो गएर अवरुद्ध भएपछि वैकल्पिक मार्ग खोलेर मर्मत गरेपश्चात राजमार्ग सञ्चालनमा ल्याइएको प्रमुख जिल्ला अधिकारी सागर आचार्यले बताए । सडक डिभिजन कार्यालय तनहुँका इञ्जिनीयरसहितको टोलीले शनिबार बिहानदेखि निरन्तर निर्माण कार्यमा लागेका कारण एकतर्फी सवारीसाधन सञ्चालनमा ल्याउन सकिएको उनले बताए ।

वैकल्पिक मार्गमा गर्न लागिएको ग्राबेल बालुवा ल्याउन समस्या भएकाले शनिबार साँझसम्म सम्पन्न गर्ने लक्ष्य राखिए पनि ढिलाइ हुन पुगेको प्रजिअ आचार्यले बताए । सडकमा अलिकति स्थान खाली हुनेबित्तिकै अन्य सवारी प्रवेश गराइदिँदा ग्राबेल बालुवा ढुवानी गर्न समस्या भएकाले तोकिएको समयभन्दा अलि ढिलाइ भएको उनले बताए ।

साँझसम्म सवारी आवतजावतको व्यवस्था मिलाउने गरी काम गरे पनि सवारी साधनकै अवरुद्धका कारण सोचेको समयभित्र सम्पन्न गर्न नसकिएको उनले जानकारी दिए । शुक्रबार र शनिबार ठूला सवारीबाहेक साना सवारीलाई प्रवेशमा अनुमति दिएपनि शनिबार बिहान पुनः समस्या आएकाले सबै सवारी प्रवेशमा रोक लगाएर काम गर्न लगाइएको तनहुँका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक अरुण पौडेलले बताए । उनका अनुसार एम्बुलेन्सलगायतका अत्यावश्याक सवारीलाई भने निर्वाध रुपमा आवतजावतको लागि व्यवस्था मिलाइएको उनले बताए ।

गत साउन ४ र ५ गते पनि उक्त राजमार्गको ठाउँठाउँमा पहिरो गएर अवरुद्ध भएपछि पाँचवटा डोजर, नेपाल प्रहरी, नेपाली सेना र स्थानीयवासीको प्रयासमा राजमार्ग सञ्चालनमा ल्याइएको थियो । रासस/File Photo



प्रतिक्रिया दिनुहोस्