काठमाडौं, साउन १६ । १५ केजी सुन प्रकरणमा फितलो कमाण्ड कन्ट्रोलका कारण दरबारमार्ग प्रहरी बृत्तबाट हटाइएका डिएसपी रञ्जन दाहालको ठाउँ अर्का डिएसपी राजेन्द्र पौडेल हाजिर भएका छन् ।
मंगलबार कमलादीस्थित नबिल बैंक अगाडि तस्करीको सुनसहित सवार स्कोरपियो जिपमा कारोबारीहरु फरार भएका थिए । डिएसपी दाहालले त्यस्तो स्थितमा आन्तरिक समन्वय गर्न नसक्दा सिंगो प्रहरी संगठनको छविमा प्रश्न उब्जाइएको थियो ।
उनलाई विहीबार अपराह्न दरबारमार्गबाट प्रहरी प्रतिष्ठानमा काज सरुवा गरिएको थियो । त्यहाँ हाजिर भएका डिएसपी पौडेल स्याङ्जाका बासिन्दा हुन् । निजामती सेवा परिवर्तन गरी उनी २०६२ सालमा प्रहरी इन्स्पेक्टर भर्ना भएका हुन् ।
उनी निजामती सेवाअन्तर्गत गृह मन्त्रालयमा शाखा अधिकृत थिए । केही जिल्लामा सहायक सिडिओका रूपमा जिम्मेवारी सम्हालिसकेका अधिकृत हुन् । मंगलबार दरबारमार्ग प्रहरीको लापरबाहीले उम्किएका सुन तस्करीमा संलग्न व्यक्तिहरुलाई बुधबार राति अपराध महाशाखाको टोलीले पक्राउ गरेको थियोे ।
उनीहरूको मुद्दासम्बन्धी कागजात दरबारमार्ग प्रहरीले टेकुस्थित प्रहरी परिसरलाई बुझाएको छ । अब यो मुद्दामाथि प्रहरी परिसरले थप अनुसन्धान गर्ने प्रहरीस्रोतले जनाएको छ ।जन आस्था साप्ताहिकबाट