Logo

बुद्धबारे भारतीय विदेशमन्त्रीको अभिव्यक्तिप्रति काँग्रेस प्रवक्ता शर्माको आपत्ति



काठमाडौं, २५ साउन । नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बुद्धबारे भारतका विदेशमन्त्री एस. जयशंकरले दिएको अभिव्यक्तिको आलोचना गरेका छन् । उनले बुद्ध नेपालको जन्मिएका हुन् भन्ने पौराणिक र प्रमाणिक तथ्यविरुद्ध बोलेको भन्दै जयशंकरको अभिव्यक्तिप्रति आपत्ति जनाएका हुन् ।

‘भगवान बुद्ध नेपालमा जन्मिएका हुन् । त्यो भुभाग नेपालको रहेको पौराणिक र प्रमाणिक तथ्य विरुद्ध भारीय विदेशमन्त्रीको अभिव्यक्तिप्रति हाम्रो आपत्ति छ,’ शर्माले ट्वीटरमा भनेका छन् । उनले आवेगको जवाफमा आवेग पस्किएर नेपाल र नेपालीको संवेदनशीलतामा चोट पुर्याउने कार्य स्वीकार्य नहुने स्पष्ट पारेका छन् ।

हिजो एउटा भर्चुअल सम्मेलनमा भारतका विदेशमन्त्री जयशंकरले बुद्ध भारतको नागरिक भएको अभिव्यक्ति दिएका थिए । यो विषयमा नेपालभित्र तिव्र आलोचना भएको छ ।

प्रधानमन्त्री केपी शर्माले राम नेपालमा जन्मिएको अभिव्यक्ति दिएको केही दिनपछि भारतीय विदेशमन्त्री जयशंकरको बुद्धबारे अभिव्यक्ति आएको हो । यसलाई शर्माले आवेगेको जवाफमा आवेग पस्किएको रुपमा लिएका छन् ।

शर्माले आपसी संवेदनशीलताको हेक्का नराखेर टिप्पणी भइरहेको भन्दै त्यसले गहिरो चोट छाड्न सक्ने बताए । उनले भने, ‘राम जन्मभूमिको प्रश्न होस् या बुद्ध जन्मभुमिको, आपसी संवेदनशीलताको हेक्का नराखेर गरिने टिप्पणीले गहिरो चोट छोड्न सक्छन्, मुल विषय मोड्न सक्छन् तर दीर्घकालीन हितमा हृदय जोड्न सक्दैनन् ।’-File Photo 



प्रतिक्रिया दिनुहोस्