गीतकार प्राध्यापक डा. कृष्णहरि बरालले स्वर्गीय राष्ट्रकवि माधव प्रसाद घिमिरेको योगदान अतुलनीय रहेको र कवितादेखि महाकाव्यको यात्रासम्म उनको योगदान रहेको उल्लेख गर्दै भने, उहाँ सधैं नै हाम्रो बीचमा रहिरहनु हुनेछ । बुधबार विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
हाम्रो बीचमा राष्ट्रकवि हुनुहुन्न । उहाँले नेपाल र नेपालीको लागि के के दिएर जानुभयो ? कसरी सम्झिनुहुन्छ ?
सबैभन्दा पहिले जुन योगदान हो नेपाली साहित्यको लागि, एउटा सशक्त साहित्यकारको रूपमा माधवप्रसाद घिमिरेलाई हामीले श्रद्धा गर्छौँ । उहाँले विभिन्न विधामा कलम चलाउनुभएको छ । बच्चाहरूको लागि बालसाहित्यदेखि लिएर गम्भीर साहित्यहरू पनि उहाँले दिनुभएको छ । उहाँको योेगदान अतुलनीय छ । कवितादेखि महाकाव्यको यात्रासम्म उहाँको योगदान छ । उहाँ सधैँ नै हाम्रो बीचमा रहिरहनु हुनेछ ।उहाँले धेरै कृतिहरू छोडेर जानुभएको छ । उहाँको कृति अमर रहनेछ ।
आजको दिनमा नेपाली साहित्यमा कवि र विभिन्न काव्यहरू लेखेर नेपाल र नेपालीको लागि राष्ट्रप्रेमको बारेमा उहाँले योगदान दिनुभएको छ । महान् कविको सम्झना गरिरहँदाखेरि पछिल्लो समय तपाईले उहाँलाई कहिले भेट्नुभएको थियो ?
म धेरै कार्यक्रमहरूमा उहाँसँग सँगसँगै बसेँ । एकेडेमीमा पनि उहाँ हुँदाखेरि म उहाँलाई भेट्न गईरहन्थे । उहाँको धेरै कृतिहरूसँग परिचित पनि थिएँ । मैले एम.ए गर्दाखेरि सिर्जनात्मक लेखनमा शोधपत्र पठाउनुपर्नेमा उहाँले नै नम्बर हालिदिनुभएको हो ।
सबैले धेरै मन पराएको उहाँको कृतिको बारेमा आज बहस गरौँ न ।
सबैभन्दा पहिलो कुरा त उहाँ नेपाली पाठकहरूमा एकदमै चर्चित कवि हुनुहुन्छ । त्यहाँ जुन अभिव्यक्ति माधवप्रसाद घिमिरेले दिनुभएको छ, जुनसुकै मान्छेले पढ्यो भने पनि त्यहाँ आँखा रसाउने खालको छ । विचारलाई भावनाको रूपमा उहाँले प्रस्तुत गर्नुभएको छ । पलहरू याद गर्दागर्दै बेलैमा सम्मान गर्न सकिएन भने पछि पश्चातापबाहेक केही पनि हुँदैन । उहाँको पंक्तिहरू पढ्दाखेरि मन छुन्छ । गौरीमा जुन माधवप्रसाद घिमिरेले विचारलाई भावनामा परिणत गर्नुभयो, त्यो कृति उत्कृष्ट छ । यो अत्यन्त सुन्दर र मान्छेलाई मन्त्रमुग्ध बनाउने कृति हो । त्यसपछि वैचारिकताप्रति पनि उहाँको लेखन रहेको छ । राजेश्वरी खण्डकाव्य लेख्नुभयो । मान्छेमा मानवता समाप्त भईसक्यो भन्ने सन्देश दिनुभएको छ । यसमा पनि बिम्बहरू आएका छन् ।
हाम्रो देशमा मान्छे बितेर गईसकेपछि मात्र प्रशंसा गर्ने चलन छ । के कारणले ?
समाजमा धेरै किसिमका धेरै विचारका मान्छेहरू छन् । एउटा विचार भएको मान्छेलाई अर्को विचार भएको मान्छेले मन नपराउने परिपाटी हाम्रो समाजमा छ । अर्काले गरेका राम्रा कामहरूलाई पनि प्रशंसा गर्न नसक्ने र हस्तक्षेप गर्ने यो आक्षेप र गालीगलौजहरू गर्ने प्रचलन छ । गद्यमा लेख्नेले पद्यमा लेख्नेलाई यो भएन भन्नु र पद्यमा लेख्नेले गद्यलाई यो भएन भन्ने काम भए होलान् । यो लेखियो भन्ने कन्टेन्ट होला र कसरी लेखियो भन्ने शिल्प होला । सय वर्षपछि पनि बादललाई हतार यस्तै होला । यो जुन अभिव्यक्ति छ, त्यो अतुलनीय छ ।
उहाँको सबैभन्दा राम्रो गीत कुन हो ? उहाँ गीतकार पनि हुनुहुन्छ ।
माधवप्रसाद घिमिरेका सबै गीतहरू राम्रा छन् । कुनै गीतलाई लयले मीठो गराएको हुन्छ । कुनै त्यसको बिम्बहरूले मीठो गराएको हुन्छ । मैले रूपारानीमा एउटा लेख लेखेँ । उहाँको देशभक्तिका गीतहरू हेर्दा अमर गीतहरू छन् । जसका रचनाहरू सबै युगमा शक्तिशाली भएर अगाडि बढ्छ । अहिले मेची र महाकालीको कुराभन्दा टिस्टा र काँकडाको कुरा उठेका छन् । उहाँले पहिले नै लेख्नुभएको थियो, पूर्वमा टिस्टा पुगेथियौँ, पश्चिममा किल्ला काँकडा, कुन शक्तिको सामु कहिले हामी झुकेथ्यौँ । कल्पना, बिम्बको प्रयोगको कारण उहाँका कृतिहरू अमर छन् । कुनैमा दार्शनिक सन्दर्भहरू छन्, ती पनि राम्रा छन् । कही राष्ट्रभक्ति छ, ती पनि राम्रा छन् । भावनालाई जस्ताको तस्तै नछोडेर परिमार्जित ढंगले प्रस्तुत गर्ने शैली माधवप्रसाद घिमिरेको छ । यसलाई हामीले समन्वयविन्दुको रूपमा स्विकार्छौँ ।
उहाँबिनाको नेपाली साहित्य भनेको अक्सिजनबिनाको मान्छेको जीवन हो ?
एकदम एकदम । उहाँको योगदान नेपाली साहित्यमा अविस्मरणीय छ ।