काठमाडौं, ६ भदौ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद समाधान गर्नको लागि महासचिव विष्णु प्रसाद पौडेलको संयोजकत्वमा गठित कार्यदलले आज अध्यक्षद्धयलाई बुझाएको प्रतिवेदनमा केपी शर्मा ओलीले सरकारको नेतृत्व र पुष्पकमल दाहालले पार्टीको सञ्चालन गर्ने सुझाव दिएको छ ।
कार्यदलमा सहभागी एक सदस्यकाअनुसार स्थायी कमिटी बैठकमा उठेका विषयहरुलाई सम्बोधन गर्नेगरि कार्यदलले सुझाव दिएको छ । सुझावमा मूलतः प्रधानमन्त्री ओली सरकार सञ्चालनमा मात्रै केन्द्रित हुने र पार्टीको सञ्चालन अर्का अध्यक्ष दाहालले गर्ने कुरा उल्लेख छ ।
त्यस्तै, मन्त्रिमण्डल पूनर्गठन पनि सहमतिमै गर्ने र विभिन्न नियुक्तीहरुपनि सहमतिका आधारमा गर्ने कुरा कार्यदलको प्रतिवेदनमा उल्लेख गरिएको छ । कार्यदलको सुझाव अब सचिवालय बैठकमा पेश हुने र त्यही बैठकमा यसबारेमा विस्तृत छलफल हुने बुझिएको छ । कार्यदलमा ओली समूहबाट संयोजक पौडेल र शंकर पोखरेल, दाहाल समूहबाट जनार्दन शर्मा र पम्फा भुषाल र वरिष्ठ नेता माधव कुमार नेपाल समूहबाट डा. भीम बहादुर रावल र सुरेन्द्र पाण्डे छन् ।
कार्यदलले बुझाएको प्रतिवेदन अध्यक्षद्धय ओली र दाहालकै सहमतिबमोजिम तयार भएको पनि बुझिएको छ । प्रतिवेदन तयार हुनुभन्दा अघि नै दुई अध्यक्षबीच मोटामोटी सहमति भैसकेको छ । कार्यदलले आज बुझाएको प्रतिवेदनलाई लिएर दुवै अध्यक्ष सन्तुष्ट छन् । Photo Source: Surya Thapa/Twitter