काठमाडौं, १३ भदौ । जनता समाजवादी पार्टी, नेपालका शीर्ष नेता तथा सांसद महेन्द्र राय यादवले प्रदेश नम्बर २ सरकारका मुख्यमन्त्री र मन्त्रीहरू परिवर्तनको विषयमा पार्टीभित्र छलफल नभएको स्पष्ट पारेका छन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
यादवले भनेका छन्,’अहिले केही हाम्रो छलफल भएको छैन । मात्र त्यो प्रदेशका सासंदजीहरूले सबै नेताहरूलाई ध्यानाकर्षण गराउनुभएको छ । त्यतिसम्म मात्र हो । त्यसमा धेरै कुरा जनताबाट पनि उठेकै हो । यसमा हाम्रो कुनै गृहकार्य भएको छैन ।’
गृहकार्य किन भएको छैन ? बाहिर कुरा आईसक्यो ? संसदीय दलको नेता परिवर्तन हुन्छ त अब ? भन्ने धमलाको अर्को प्रश्नमा उनले थपे,’स्वभाविक रूपले पार्टी यहाँ पनि र त्यहाँ पनि दर्ता भयो । त्यो त कानूनी प्रक्रिया हो । अब हाम्रो पार्टीको जुन समायोजनको कुरा हो, समायोजनको काम तलदेखि माथिसम्म सम्पन्न गर्नुपर्दछ । यसको लागि हाम्रो आन्तरिक र औपचारिक छलफलहरू भईरहेको छ ।’
त्यस्तै, उनले प्रदेश नम्बर २ को सरकारले सिमिति साधन र स्रोतका बावजुदपनि काम गरिरहेको जिकिर गरे । उनले भने,’२ नम्बर प्रदेशसँग जुन स्रोत, साधन छ, सकेको काम प्रदेश नम्बर २ ले गरिरहेको छ । सबै प्रदेशको एउटै नेचर र कानूनी अधिकार छ । अहिले पनि यो प्रदेश भनेको केन्द्रको माथहत नै हो । प्रत्यक्ष रूपमा केन्द्रिय शासन नै हो यो ।’ file photo