भदौ १३, काठमाण्डौ । नेपालमा दुई सय ७ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ । अहिलेसम्म कूल संक्रमितमध्ये मृत्युहुनेको प्रतिशत एकभन्दा कम छ । उमेरका हिसाबले मृत्यु हुनेमध्ये ८० वर्षभन्दा माथिका संक्रमित धेरै छन् ।
नेपालमा कोरोना संक्रमितको संख्या २ सय ८१ पुग्दा कोरोनाबाट पहिलो व्यक्तिको मृत्यु भएको थियो । सिन्धुपाल्चोक बाह्रेबिसेकी २९ वर्षीया महिलाको जेठ ३ गते मृत्यु भएको थियो । भदौ १३ गतेसम्म आइपुग्दा संक्रमितको संख्या ३७ हजार पुगेको छ भने मृत्यु हुनेको संख्या २ सय नाघेको छ । मृत्युदर केलाउँदा ८० वर्षभन्दा माथिका संक्रमितको मृत्युदर धेरै छ । अहिलेसम्म संक्रमितमध्ये ८० वर्षमाथिका एक सय आठ जना छन् । उनीहरूमध्ये ११ जना अर्थात १० प्रतिशतको मृत्यु भएको छ ।
त्यस्तै ६० देखि ८० वर्षसम्मका एक हजार तीन सयभन्दा धेरै जना संक्रमित भएका छन् । यो उमेरसमूहका संक्रमिमध्ये ६६ जना अर्थात ५ प्रतिशतको मृत्यु भएको छ । ४० देखि ६० वर्ष उमेरसमूहका सात हजारभन्दा धेरै जना संक्रमित हुदा ८० जना अर्थात १. १३ प्रतिशतको मृत्यु भएको छ । सबैभन्दा बढी संक्रमित २० देखि ४० वर्ष उमेरका छन् ।
यो समूहमा २२ हजारभन्दा धेरै संक्रमित हुँदा २९ जनाको मृत्यु भएको छ । नेपालमा काम गर्न सक्ने उमेरका युवाहरु भारत गएका र त्यहाँबाट फर्किदा संक्रमित भएको हुनाले यस्तो तथ्याङ्क आएको जनस्वास्थ्यविद् डा. रविन्द्र पाण्डेले बताएका छन् ।
यसैगरी १० देखि २० वर्ष उमेरसमूहका चार हजार तीन सयभन्दा धेरै संक्रमित हुँदा शुन्य दशमलव ११ प्रतिशतको मृत्यु भएको छ । त्यस्तै १० वर्षभन्दा मुनिका करिब एक हजार चार सय बालबालिका संक्रमित भएकोमा चार जना अर्थात शून्य दशमलव २९ प्रतिशतको मृत्यु भएको छ ।
उमेरअनुसार मृत्युदर हेर्दा रोगप्रतिरोधी क्षमता बढि भएका उमेर समुहको मृत्युदर कम देखिन्छ । तर संक्रमण भने रोगप्रतिरोधी क्षमता बढि भएको उमेर समुहका व्यक्तिमा नै धेरै देखिएको छ । संक्रमितमध्ये २९ हजारभन्दा धेरै पुरुष र करिब ८ हजार महिला रहेका छन् ।।