स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेम कार्कीले कोरोना भाइरस एक ठाउँबाट अर्को ठाउँमा चेनजस्तो भएर सरिरहेको बताउँदै त्यो चेनलाई ब्रेक गर्ने काम आफूहरुले गरिरहेको स्पष्ट पारेका छन् । उनले बेसार खानु गलत नभएको बताएका छन् । आज सोमबार विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको कार्यक्रम नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले भने, बेसार खानु गलत छैन । तर बेसारले कोरोना निको हुन्छ भन्ने होइन । कोरोनाको औषधी अहिलेसम्म बनेको छैन । त्यसकारण संक्रमणको दर कम होस् भन्नका लागि केही हदसम्म काम गर्छ । त्यसैले बेसारको प्रयोग गलत होइन । तर बेसारलाई नै कोरोनाको अचुक उपचार हो भन्न मिल्दैन । प्रस्तुत छ डा. कार्कीसँग पत्रकार धमलाले गरेको कुराकानीको सम्पादित अंश :
अब सरकारले वैकल्पिक उपायहरू कसरी खोज्दैछ ? कोरोनाको महामारी फैलियो, उपत्यकामा । अब कसरी जान्छ सरकार ?
अब यो कोरोनाको महामारी जसरी फैलिएको छ, यो एक खालको आगो लागेको जसरी फैलिरहेको छ । ठाउँ-ठाउँमा यो देखिरहेको छ । यसलाई नियन्त्रण गर्नको लागि हामीसँग उपाय भनेको जो पोजिटिभ, संक्रमित भयो, उसलाई पनि आइसोलेसन गर्ने र उसको नजिकको प्राइमरी कन्ट्याक्टमा भएका मान्छेहरूलाई पनि हामीले खोजेर आइसोलेसन गर्ने हो । त्यसैलाई आधार मानेर हामीले केशलाई खोज्ने र हामीले जति पोजिटिभ देखिन्छ, एकदम धेरै देखिएको जस्तो छ, अहिले । त्यसको ९ देखि १० प्रतिशत पोजिटिभ हो । यो एक ठाउँबाट अर्को ठाउँमा सर्नको लागि एउटा चेन जस्तो भएर सरिरहेको छ, त्यो चेनलाई ब्रेक गर्ने काम हामीले गरिरहेका छौँ ।
तर पनि डाक्टरसाहब धेरै समस्याहरू छन् । काठमाडौँका सि.डि.ओ.ले प्रस्ट रूपमा भन्नुभएको छ, सेना परिचालन गर्नुपर्छ अब भनेर ?
यो हाम्रो अहिले दुर्भाग्य के भयो भन्दाखेरि हामीले निषेधाज्ञा जारी गरे पनि, बन्दाबन्दी भने पनि मानिसहरूको आवतजावत रोकिएको छैन । अनावश्यक ढंगले नाकाबाट नपसिकन जंगल जंगलबाट भए पनि पस्ने र अधिकांश त्यस्ता व्यक्तिहरू संक्रमित हुनुहुन्छ । उहाँहरूबाट सर्न सक्ने डर छ । यस्तो भएको हुनाले सायद प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा जारी गर्नुभएको हो ।
निषेधाज्ञामा सेनाहरू पनि परिचालन गर्नुपर्छ भन्ने तर्कहरू बाहिर आएको छ । यो देशमा कोरोना रोकथाम तथा नियन्त्रणका लागि सेना परिचालन गर्नुपर्ने स्थितिमा हामी पुग्यौँ त ?
सेना/सुरक्षाकर्मीहरूको परिचालनको कुरा हाम्रो प्रमुख जिल्ला अधिकारीले बोर्डर र उपत्यका छिर्ने ठाउँहरूमा टाइट गर्नुपर्छ भन्ने कुरा छ । बोर्डरलाई टाइट गरेर आवतजावतलाई अलिकति कम गर्नुपर्छ । यो प्रवेशसँग जोडिएको विषय हो ।
होइन, तपाईलाई थाहा छ, प्रवेशमा कडाइ गर्नुपर्छ । भएन त्यहाँ कडाइ, सीमामा ? काठमाडौं उपत्यकामा प्रमुख जिल्ला अधिकारीहरूको निष्कर्ष, जनकराज दाहाल, नारायणप्रसाद भट्ट, हुमकला पाण्डेले भनिसक्नुभयो । अहिलेको अवस्थामा तीन वटै जिल्लाका सि.डि.ओ.ले भनिसक्नुभयो ।
अब यो दुई वटा पक्ष हो । एउटा पक्ष के छ भने हामीले अलि आवतजावतलाई नियन्त्रण गर्नुपर्छ । आवतजावतलाई नियन्त्रण गरिसकेपछि एउटा पोजिटिभ मान्छेले अरू अरू मान्छेसँग सम्पर्क गरेन भने सर्ने दर घट्छ भन्ने एउटा प्रिन्सिपल हो । दोस्रो कुरा के हो भने हरेक व्यक्तिले स्वास्थ्यका मापदण्डहरू प्रयोग गरियो भने यदि संक्रमित कोही वरिपरि छ भने पनि त सर्दैन नि । हरेक नागरिकले जिम्मेवारी वहन गर्नुपर्छ । अब यो सरकारसँग माग्ने तर जिम्मेवारी पूरा नगर्ने खालको भए कोरानाको नियन्त्रण गर्न सक्दैनौँ । हरेक मान्छेले नाकमुख छोप्ने गरेर मास्क लगाउने, भौतिक दूरी कायम गर्ने कुराले हामीले महामारी रोक्न सक्छौँ । त्यो कुरा नगर्ने अनि खाली सरकारसँग कराएर हुँदैन । हरेक आम नागरिकले आफुले पालना गर्नुपर्ने नियमहरू पालना गर्ने हो भने संक्रमण हुँदैन । संक्रमण भएन भने आफु बच्ने हो, परिवार बच्ने हो । सरकारलाई केही फाइदा हुने होइन, त्यसबाट । त्यो त मलाई फाइदा हुन्छ भन्ने हिसाबले आम नागरिकले सोच्न जरुरी जस्तो मलाई लाग्छ ।
के लकडाउन नै हो त कोरोना नियन्त्रणको लागि समाधान ?
लकडाउन नै समस्याको समाधान त होइन । यदि नागरिकहरूले बानी व्यवहारमा परिवर्तन गरेनन् भने निरन्तर संक्रमण बढिराख्छ । त्यो संक्रमण बढ्न नदिनका लागि लकडाउन एउटा उपाय हो । तर यो अन्तिम उपाय होइन । लकडाउनलाई आम नागरिकले के थाहा पाउनुपर्छ भने हाम्रो कारणले यो लकडाउन भईरहेको छ, हामी अनुशासित हुनुपर्छ, हामीले यो जनस्वास्थ्यको मापदण्ड शतप्रतिशत पालना गर्नुपर्छ, भनेर त्यो खालको व्यवहारमा परिवर्तन गरियो भने नियन्त्रण हुन्छ । सरकारको सधैँभरि यसमा प्रयत्न हुन्छ । त्यसैले हामीले जनस्वास्थ्य अनुरूप नियमहरू पालना गराउनका लागि हरेक दिन बिहान बेलुका साढे ६ देखि ११ बजेसम्म र साँझ ४ देखि ७ बजेसम्म कसले मास्क लगाएका छैनन्, उहाँहरूलाई सम्झाउने, बुझाउने, मास्क नलगाएको व्यक्तिसँग मास्क छैन भने मास्क दिने, घरघरमा, टोलटोलमा यो खालको गतिविधिहरू अगाडि बढाउनुपर्छ । यो हुँदा पनि मान्छेहरू हाम्रो लागि मास्क लगाइदिएको जस्तो, पुलिसको अगाडि मात्र मास्क लगाइदिने, अरू बेलामा मास्क खोलेर बस्ने, यो प्रवृत्तिलाई हामीले जबसम्म परिवर्तन गर्दैनौँ, तबसम्म हामीले यो कोरोनाको संक्रमण जुन बढेको छ, त्यसलाई हामीले रोक्न सक्दैनौँ । त्यसैले आम नागरिकले म पनि यसमा सोच्न जिम्मेवार छु भन्ने हिसाबले सोच्न जरुरी छ ।
विरामीलाई के खुवाईन्छ, कसरी उपचार भईरहेको छ ?
हामीले संक्रमितहरूलाई दुई भागमा छुट्याएका छौँ । एउटा लक्षण चिह्न नदेखिएकाहरू र जसको घरमा छुट्टै बस्ने वातावरण छैन, यो रोग कस्तो भने कसैले कसैलाई नछुनेगरी बसेर यो रोग नियन्त्रण हुने कुरा हो । त्यसकारणले यदि त्यस्तो खालको वातावरण घरमा छ भने उहाँहरू त्यसरी बस्नुहुन्छ । लक्षण देखिनेबित्तिकै उहाँहरू अस्पतालमा आउनुहुन्छ । लक्षणचिह्न भएका व्यक्तिहरूलाई हामीले अस्पतालमा भर्ना गर्छौँ । कि त उनीहरू आइसोलेसन सेन्टरमा जान्छन् । पोजिटिभ भईसकेपछिको सम्पूर्र्ण उपचार खर्च, उसलाई आइसोलेसनमा बस्दाखेरि खानाको खर्च, यी सबै अहिलेसम्म सरकारले व्यहोर्दै आएको छ तर १४ दिनसम्म ४ पटक खानेकुराहरू खुवाएर आइसोलेसन सेन्टरहरूमा राखिरहेको छ ।
जस्तो आयुर्वेदिक औषधीको कुरा पनि आएको छ । जडीबुटी खुवाउनुपर्छ भनेर पनि भनिएको छ । कतै दूध बेसार पनि खुवाईएको छ । कति उपयोगी भएको छ, उपलब्धि कति भएको छ ?
यी के हुन् भने यी हाम्रो परम्परागत औषधीहरू हुन् । बेसार खराब छ, भन्ने कुरा हुँदै होइन । ज्वरो आयो भने बेसारले औषधीको काम गर्छ । उनीहरूले बेसार खानु गलत छैन तर बेसारले कोरोना निको हुन्छ भन्ने होइन । कोरोनाको औषधी अहिलेसम्म बनेको छैन । त्यसकारण संक्रमणको दर कम होस् भन्नका लागि केही हदसम्म काम गर्छ । त्यसैले बेसारको प्रयोग गलत होइन । तर बेसारलाई नै कोरोनाको अचुक उपचार हो भन्न मिल्दैन । जस्तो विभिन्न खालका जडीबुटीहरूले रोगसँग लड्न सक्ने क्षमता बढाउँछ । त्यो खाँदा बिग्रिने कुरा त होइन । अब यसले संक्रमितहरूलाई रोगसँग लड्न सहयोग गर्छ । त्यसैले यो आयुर्वेदिक अचुक औषधी हो, बेसार अचुक औषधी हो, यसले कारोनाको विरुद्धमा काम गर्छ भनेर प्रचारप्रसार हुनु यो गलत हो ।
सरकारले भन्यो नि त, जथाभावी प्रचार नगर, हामी कारबाही गर्छौँ भनेर ?
मान्छेहरूले यो अचुक औषधी हो, यो कोरोनाको उपचार हो । यसले मान्छेलाई ठीक पारिदिन्छ, भनेर जुन एउटा भ्रम सिर्जना गरिराखिएको छ, त्यो महामारीको बेलामा पनि पैसा कमाउन गरिएको अफबाह हो । प्रचार प्रसार, विज्ञापन गरेर संक्रमित मान्छेहरूमाथि शोषण गर्ने खालको स्थिति सिर्जना भएको छ । त्यो गर्नुहुँदैन भनेर अहिले राज्यले चेतनाको कुरा गरिरहेको छ । त्यसमा कारबाहीहरू पनि गरिरहेको छ । केही ठाउँमा भ्रम नै सिर्जना गरिएको छ ।
कोरोनाको औषधी बन्यो, खानुस् भनेर आइसक्यो बाहिर । डाक्टरहरूले भन्न थालिसके । तपाईले थाहा पाउनुभएको छैन् ?
त्यो गलत कुरा हो । अहिलेसम्म वैज्ञानिक हिसाबले कोरोनाको औषधी बनेको छैन । यी सबै कोरोनाको विरुद्धमा बनेका औषधीहरू होइनन् । हामी कोही पनि प्रचारप्रसारमा लाग्नुपर्ने जरुरी छैन । कोही पनि लाग्नुहुँदैन । औषधी बन्यो भने हामी सार्वजनिक रूपमा नै घोषणा गर्छौँ । आम नागरिकलाई अहिले जतिपनि बजारमा प्रचारप्रसार भएका छन्, त्यस्तो कुनै पनि औषधीहरू अहिलेसम्म विश्वमा बनेको छैन ।
पछिल्लो समय निको हुनेहरूको दर बढेको हो ?
यो स्वभाविक रूपमा के हो भने पछिल्लो समयमा निको हुनेहरूको संख्या जस्तो भदौको पहिलो हप्ता, दोस्रो हप्ता, संक्रमित भएका थिए, कतिपय होम आइसोलेसनमा राखिएकाहरूमा १४ दिनसम्म लक्षणहरू नदेखिएको हुनाले उहाँहरू घर फर्कनुभयो । उहाँहरू डिस्चार्ज हुँदै जानुहुन्छ । पछिल्लो समयमा धेरैजना डिस्चार्ज हुँदै जानुभएको छ । अब डिस्चार्जको संख्या बढ्दै जान्छ किनभने १४ दिनसम्म कुनैपनि लक्षण देखिएन भने उहाँहरूलाई हामी रिलिज गर्छौँ । अहिलेको पछिल्लो संशोधित गाइडलाइन अनुसार पोजिटिभ भएर आइसोलेसन सेन्टरमा राखिएको, जसको लक्षणचिह्नहरू देखिँदैन, १४ दिनपछि अर्को टेस्ट नगरिकन छोड्न सकिन्छ ।