Logo

अख्तियार प्रमुखको भूमिकामा कस्तो रह्यो नविन घिमिरेको कार्यकाल ?



भदौ २८, काठमाण्डौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरे आजबाट अवकास पाएका छन् । ६५ बर्षे उमेरहदका कारण घिमिरेले आयुक्तबाट बिदा लिएका हुन् । घिमिरेलाई राजनीतिक आग्रहका आधारमा ठूला मुद्दालाई ओझेलमा पारी साना साना मुद्दामा मात्र ध्यान दिएको आरोप लाग्ने गरेको छ ।

करिब ३५ वर्ष सार्वजनिक प्रशासनमा बिताएका पूर्वगृहसचिव नवीन घिमिरे विगतमा नेकपा एमाले निकट भनेर चिनिन्थे । तत्कालीन एमाले अध्यक्ष केपी शर्मा ओलीसँग राम्रै सम्बन्ध भएका अख्तियार प्रमुख बन्ने मौका मिलेको हो । ओलीले २०७१ चैत १९ गते घिमिरेलाई अख्तियारको आयुक्तमा नियुक्त भएका थिए । २०७५ साल भदौ २० गते संवैधानिक परिषदको बैठकले घिमिरेलाई प्रमुख आयुक्तका लागि सिफारिस गरेको थियो ।

यसअघि २९ माघ २०७४ देखि नै उनी आयोगको कार्यवाहक प्रमुख भइसकेका थिए । परिषदको सिफारिसपछि संसदीय सुनुवाई समितिमा छलफल भएर घिमिरको नाम अनुमोदन भएको थियो । र २०७५ असोज ४ गते उनी प्रमुख आयुक्त नियुक्त भए । नियुक्त भएपछि घिमिरेले विधि र पद्धतीभित्र रहेर काम गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । विगतका कमीकमजोरीबाट पाठ सिक्दै भ्रष्टाचार जोकोहीले गरे पनि साना ठूला भनेर नछोड्नेसमेत बताएका थिए ।

तर आफ्नो कार्यकालमा घिमिरेले राजनीतिक आग्रह र पूर्वाग्रहका आधारमा काम गरेको आरोप लागेको छ । तुलनात्मक रूप सफा छविका पूर्वप्रशासक मानिए पनि उनी अख्तियार प्रमुख भएपछि निष्पक्ष काम गर्न नसकेका हुन् । शक्ति र सत्ताको दबाब थेग्न नसक्नु नै उनको कमजोरी भएको अधिकांशले बताउने गरेका छन् । यद्यपी उनको कार्यकालमा केही उदाहरणीय काम पनि भएका छन् । प्रमुख आयुक्त घिमिरेले पूर्वआयुक्त राजनारायण पाठकविरुद्ध भ्रष्टाचार मुद्दा चलाए । पर्याप्त प्रमाणको अभाव, केवल भिडियो फुटेजका भरमा समेत मुद्दा दायर गर्ने निर्णयको नेतृत्व गरेर उनले भ्रष्टाचारको अभियोगमा अख्तियारकै पूर्वपदाधिकारीमाथि समेत मुद्दा चल्न सक्छ भनेर नजिर बसाए । आफूभन्दा अघिका पूर्वप्रमुख दीप बस्न्यातमाथि समेत उनले भ्रष्टाचार मुद्दा चलाएर अर्को उदाहरण प्रस्तुत गरे ।

साथै पूर्वउपप्रधानमन्त्री एवं कांग्रेस उपसभापति विजयकुमार गच्छदारमाथि समेत मुद्दा चलाउने निर्णयको नेतृत्व लिए । पूर्वमन्त्री चन्द्रदेव जोशी र विक्रम पाण्डेमाथि पनि भ्रष्टाचार मुद्दा चलेकाले सूर्यनाथ उपाध्यायपछि सबैभन्दा बढी राजनीतिक पात्रहरूमाथि भ्रष्टाचार मुद्दा दायर गर्ने अख्तियारको नेतृत्वकर्ताको कीर्तिमान घिमिरेले रोखका छन् । यि केही उदाहरणका बीच पनि घिमिरेलाई प्रधानमन्त्री ओलीले आफ्नो निर्देशनमा प्रयोग गरेको आरोप भने धेरैजसोले लगाउने गरेका छन् ।

पूर्वसेनापति राजेन्द्र क्षत्रीविरुद्ध गैरकानुनी सम्पत्ति आर्जनको आरोपमा परेको उजुरी अघि बढ्न सकेन । वाइडबडी, न्यारोबडी काण्ड पनि टुङ्गोमा पुग्न सकेन । सत्ता जोडिएका यति समूहको स्वार्थ, दरबारमार्गको जग्गा, सेक्युरिटी प्रिन्टिङ प्रेस र बाँस्कोटा अडियो टेप, टेलिकमको फोरजी प्रकरण, रेलको ठेक्का लगायतका मुद्धामा पनि घिमिरेल प्रभावकारी कदम चाल्न सकेनन् । घिमिरेसहित अख्तियारमा तीन पद रिक्त भएका छन् । पाँचजना पदाधिकारी रहने आयोगमा तीन पद रिक्त हुँदा काम गर्न कठिनाइ हुने भएको छ ।



प्रतिक्रिया दिनुहोस्