Logo

राप्रपा सहमतिः चिह्न ‘हलो’, झन्डा ‘गाई’



काठमाडौं, असोज १ । राष्ट्रिय प्रजातन्त्र पार्टीभित्र पार्टी एकता हुँदादेखि नै नसुल्झिएको निर्वाचन चिह्नको विवाद एकताको ६ महिनापछि टुंगिएको छ । गत २८ फागुनमा पार्टी एकता हुँदा थाती राखिएको चिह्न विवाद पटक पटकको अध्यक्षत्रयबीचको छलफलपछि बुधबार टुंगिएको हो ।

राप्रपा अध्यक्षत्रय कमल थापा, पशुपतिशमशेर राणा र प्रकाशचन्द्र लोहनीबीचको पटक पटकको छलफल पछि एकीकृत पार्टीको निर्वाचन चिह्न ‘हलो’ र झन्डामा ‘गाई’ राख्ने सहमति भएको हो ।

जसअनुसार अब चिह्न एकताअघि राणा समूहले मान्दै आएको ‘हलो’ तथा झन्डा एकताअघि कमल थापा नेतृत्वको राप्रपाले मान्दै आएको ‘गाई’ अंकित हुनेछ । पार्टी एकता हुँदा भने ६ महिनाभित्र चिह्न तय गर्ने सहमति गरिएको थियो ।
राप्रपा केन्द्रीय सदस्य जनक पाठकले निर्वाचन चिह्नमा ‘हलो’ र झन्डामा ‘गाई’ अंकित हुने गरी अध्यक्षत्रयबीच सहमति भएको दाबी गरे ।

कार्यदलमा रहेका नेताहरू नै विषयको व्याख्यामा पुरानै गुटअनुसार पक्ष विपक्षमा उभिएपछि बाँकी विषयमा निर्णय गर्ने अधिकार तीन अध्यक्षलाई नै दिइएको थियो ।

‘निर्वाचन चिन्हमा ‘हलो’ र झन्डामा ‘गाई’ अंकित हुने गरी अध्यक्षत्रयबीच सहमति भएको छ,’ पाठकले भने । तीन अध्यक्षबीच अझै पनि पार्टीको विधानका विषयमा सहमति जुट्न बाँकी छ । थापा पक्षीय नेताहरू आफ्नो पक्षबाट पहिले निर्वाचन आयोगमा बुझाइएको विधानलाई नै एकीकृत पार्टीको अन्तरिम विधान कायम गरिनुपर्ने पक्षमा छन् भने राणा–लोहनी पक्ष त्यसो गर्दा पार्टी एकताको भावनाविपरीत हुने भन्दै त्यसलाई अस्वीकार गर्दै आइरहेका छन् ।

तर थापा पक्षले भने एकीकरणको भावनाअनुरूप हुने गरी सामान्य संशोधन गरेर जान सकिने मत राख्दै आइरहेको छ । सो पक्षले राजासहितको प्रजातन्त्र एकीकरणको भावनाको मूल लक्ष्य रहेकाले सो कुरा पुरानो विधानमा पनि रहेको, अध्यक्ष एक जना रहने भन्नेमा तीन अध्यक्ष भन्ने शब्द राख्ने, केन्द्रीय समिति १ सय ६५ सदस्यीय भन्नेमा ३ सय २७ राख्ने र चिह्नमा हलो राखेर सामान्य संशोधन गरी पुरानै विधानलाई अन्तरिम विधान मान्न सकिने भन्दै आइरहेको छ ।

तर, राणा–लोहनी समूह भने राप्रपामा पार्टी परित्याग नभई एकीकरण गरेर आएको भन्दै एकीकरणकै भावनाअनुरूप हुनुपर्ने अडानमा रहेका आजको राजधानी दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्