काठमाडौं, असोज ११ । सरकारले नेपाल प्रहरीको नायब महानिरीक्षक (डीआईजी)को दरबन्दी थप गर्न तयारी अघि बढाएको छ ।
गत २८ चैतमा डीआईजी संख्या कटौती गरेको सरकारले संख्या घटाएको चार महिनापछि फेरि पाँचवटा दरबन्दी थप्न तयारी अघि बढाएको हो । नेपाल प्रहरीमा हाल दुई डीआईजीको दरबन्दी भने रिक्त नै छ ।
गृह मन्त्रालयका एक उच्च अधिकारीका अनुसार डीआईजी थपको प्रस्ताव मन्त्रिपरिषद्मा पठाएको करिब एक महिना भइसकेको छ । प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रामबहादुर थापा डीआईजी दरबन्दी थप गर्ने विषयमा सहमति भएपछि गृहले मन्त्रिपरिषद्मा प्रस्ताव पठाएको ती अधिकारीले जानकारी दिएका हुन् ।
गृह मन्त्रालयले डीआईजी थप गर्ने विषयमा अध्ययन गरी सिफारिस गर्न ओएनएम समितिसमेत बनाएको थियो । सो समितिले समेत डीआईजी संख्या थपको प्रस्ताव गरेको थियो । सो समितिमा नेपाल प्रहरीका तर्फबाट डीआईजी प्रकाशजंग कार्कीसमेत सदस्य छन् ।
स्रोतका अनुसार प्रहरी प्रधान कार्यालय र मन्त्रालयबीच सहमति जुटेपछि सो संख्या प्रस्ताव गरिएको थियो । प्रधान कार्यालयले महत्पूर्ण विभागमा डीआईजीको दरबन्दी आवश्यक रहेको भन्दै प्राविधिकतर्फ बाहेक हाल १४ जनाको संख्या रहेको डीआईजीबाट पाँच बढाएर १९ पु(याउन प्रस्ताव गर्दै आएको आजको राजधानी दैनिकमा खवर छ ।