Logo

एकलैनी बजार विस्तारको काम शुरु



बाँके, असोज १९ । लामो समयको रस्साकस्सीपछि अन्ततः नेपालगञ्ज उपमहानगरपालिकाको एकलैनी बजार क्षेत्र विस्तारको काम शुरुआत गरिएको छ । दुई दशक पुरानो एकलैनी बिस्तार योजना कहिले बजेट अभाव तथा कहिले स्थानीयको अवरोधका कारण अघि बढ्न सकेको थिएन । स्थानीय वडा कार्यालयहरुको समन्वयमा स्थानीयलाई सहमतिमा लिएर विस्तारको काम शुरु गरिएको उपमहानगरपालिका प्रमुख डा धवलशम्शेर राणाले जानकारी दिनुभयो ।

उक्त बजार क्षेत्रमा दुई छेउ नालासहितको सात मिटरको पक्की सडक निर्माणको काम शुरुआत गरिएको र दुई महिनाभित्र सक्ने योजना नगरपालिकाले तय गरेको छ । नाला र सडक निर्माणका लागि उपमहानगरपालिकाको आन्तरिक कोषवाट झण्डै रु २२ करोड छुट्याइएको उहाँले बताउनुभयो ।

स्थानीय तहमा जनप्रतिनिधि आएर काम गर्न लागेको तीन बर्ष पुग्न लाग्दा समेत विवादका कारण एकलैनी बजार क्षेत्र विस्तार योजनाको काम अघि बढन् सकेको थिएन । नेपालगन्ज—३ का वडाध्यक्ष मोहम्मदआयुब सिद्दीकीले भन्नुभयो,“लामो समयको खिचातानीपछि अहिले एकलैनी क्षेत्रका स्थानीयहरु घर भत्काउन सहमत भएका छन् । ”

नेपालगञ्ज सानो हुँदा सबै कारोबार एकलैनी बजारबाट हुने गथ्र्यौ । समय क्रमसंगै नेपालगन्जले आकार लिदै गएपनि यो क्षेत्र भने खुम्चिएकै स्वरुपमा छ । मोटर जान नसक्ने तीन मिटरभन्दा सानो वाटो, अव्यवस्थित पसल, फोहरमैला विसर्जनका लागि स्थान अभावको लगायत साँघुरोपनको अवस्था एकलैनीले बर्षौदेखि भोग्दै आएको छ ।

बजार विस्तार हुन नसक्दा यो क्षेत्रवाट श्रृंगार र दैनिक उपभोग्य बस्तुको पसल बाहेक अन्य पसलहरु विस्तारित क्षेत्रमा सर्दै गएका छन् । “आप्mनो बजार क्षेत्रमा कारोबार नै नहुने अवस्था देखिएपछि त्यहाका स्थानीय बाध्य भएर सहमतिमा आएका हुन् । ”नगर प्रमुख राणाले भन्नुभयो ।

यसका साथै एकलैनी विस्तारका लागि अहिले चारैतिरबाट दबाब बढ्दै गएको थियो । झण्डै पाँचहजार घरधुरीको बसोबास रहेको यो बजार क्षेत्रमा योजना अन्तर्गत चौडा सडक र नाला निर्माण हुने योजना रहेको नगर प्रमुख राणाले बताउनु भयो । रासस



प्रतिक्रिया दिनुहोस्