काठमाडौं, २१ असोज । लुम्बिनी प्रदेश र राजधानी देउखुरी । दुई तिहाई मतद्वारा यस्तो घोषणा हुँदा उक्त प्रदेशको राजनीतिमा दुरगामी असर पर्ने देखिएको छ ।
बुटवल राजधानी बनाउनुपर्ने पक्षधरहरु नराम्रो झड्का खान पुगेका छन् । रुपन्देही र आसपासका जिल्लाको राजनीतिमा यसले ठुलै असर पार्न सक्छ । बुटवलका अलावा, गुल्मी, पाल्पा जस्ता लुम्बिनी प्रदेशको जिल्ला नेकपाको गढ हो । तर, अब त्यसमा धक्का पुग्न सक्छ । उक्त क्षेत्रका प्रदेश सांसदमध्ये नेकपा सांसदले पनि पार्टी ह्वीप उल्लंघन गर्न सकेनन् । तर, त्यसको ठिक विपरित नेपाली काँग्रेसका दाङ राजधानी बनाउनुपर्ने पक्षधर सांसदहरुले पार्टी ह्वीप उल्लंघन गरी पक्षमा मदान गरे ।
काँग्रेसका दाङ र आसपासका क्षेत्रबाट प्रतिनिधित्व गर्ने पाँच सांसदले दलीय ह्वीप मानेनन् । जबकि काँग्रेस संसदीय दलले दाङ राजधानी बनाउनुपर्ने विपक्षमा मतदान गर्न ह्वीप जारी गरेको थियो । बाँकी १३ जनाले ह्वीप माने । उनीहरु बुटवलको पक्षमा थिए ।
काँग्रेसका ५ जना सांसदले ह्वीप उल्लंघन गरेर राजनीति सुरक्षित बनाउन सके । बुटवल र आसपासका क्षेत्रबाट प्रतिनिधित्व गर्नेले विपक्षमा मतदान गरेर त्यस्तै गरे । यसरी काँग्रेसको दुवै हातमा लड्डु भएको छ ।
नेकपाका सबै ६१ जना सांसदले ह्वीप माने । जसमा बुटवल राजधानी बनाउनुपर्ने पक्षका पनि थिए । अब उनीहरुलाई भविष्यमा राजनीति गर्न भने सजिलो छैन ।
रोचक पक्ष यो छ कि काँग्रेस संसदीय दलको ह्वीप नमान्नेलाई कारबाही भने हुँनेछैन । लुम्बिनी प्रदेशका काँग्रेस संसदीय दलका नेता वीरेन्द्र कनौडिया ह्वीप उल्लंघन गर्नेलाई कारबाही नगरिने बताउँछन् । उनी भन्छन्, ‘सामान्य नसियत दिने कामसम्म हुनसक्छ ।’ ह्वीप उल्लंघन गर्नेहरुले यसअघि नै दाङको पक्षमा मतदान गर्नुपर्ने अवस्था र कारण खुलाएर नोट अफ डिसेन्ट लेखेको समेत कनौडियाले बताए । उनले भने, ‘नियतवश ह्वीर उल्लंघन गर्नुभएको होइन, उहाँहरुको भावना समेत हामीले बुझ्नुपर्छ ।’
यसरी काँग्रेसले दाङ राजधानी बनाउनका लागि भएको मतदान र राजनीतिक घटनाक्रममा लाभ लिन सकेको छ । उसले भविष्यसम्म यसलाई राजनीतिक अस्त्र बनाउनसक्ने सम्भावना छ । नेकपालाई भने दाङ र आसपासका क्षेत्रमा राजनीतिक लाभ भएको छ । रुपन्देही, कपिलवस्तु, नवलपरासी, पाल्पा, गुल्मीलगायतका क्षेत्रमा भने ठुलै धक्का परेको छ ।