काठमाडौं, कार्तिक २ । नजिकिँदै गरेको तिहारका लागि गतवर्षको दाँजोमा कम फूलमाला उत्पादन हुने भएको छ । नेपाल पुष्प व्यवसायी संघका अनुसार करीब १५ लाख माला बजारमा ल्याउने तयारी छ, जुन गतवर्षको भन्दा ३ लाख कम हो ।
कोरोना महामारीका कारण पुष्प व्यवसायमा नराम्रो असर परेपछि फूल खेती गर्ने अधिकांश कृषक तरकारी खेतीतर्फ लागेकाले यस वर्ष उत्पादन घट्न पुगेको हो । नेपालमा हरेक वर्षको तिहारमा सयपत्री र मखमली फूलका करीब २२ लाख मालाको खपत हुने गर्दछ । यस वर्ष मागभन्दा ७ लाख माला कम उत्पादन हुन सक्नेसंघले बताएको छ ।
नेपाल पुष्प व्यवसायी संघका अध्यक्ष कुमार कसजु श्रेष्ठका अनुसार यस वर्षको तिहारका लागि बजारमा मालाको मागबारे अहिले नै अनुमान नभए पनि माग घट्ने देखिएको छ । ‘बजार नचले पनि लगभग १५ लाख माला खपत हुने अनुमान भएकाले सोही अनुसार तयारीमा लागिपरेका छौं,’ उनले भने । सामान्य अवस्थामा नेपालमा हरेक दिन सयपत्रीका १० हजारदेखि १५ हजार माला विक्री हुने गरेकोमा हाल ३ देखि ५ हजार माला मात्र विक्री हुने गरेको संघको तथ्यांक छ ।
महामारीको चपेटामा परेका उपभोक्ताको क्रय शक्तिमा आएको ह्रासका कारण तिहारमा फूलको माग घट्ने अनुमान गरिएको छ । यस्तो समयमा अत्यावश्यक वस्तु किन्न छोडेर उपभोक्ताले पूmल किन्ने सम्भावना कम भएको पुष्प व्यवसायीहरू बताउँछन् ।
गतवर्षको तिहारमा सयपत्री फूलको माला ५५ रुपैयाँदेखि ७० रुपैयाँसम्ममा विक्री भएको थियो । गतवर्षको जति माग भएमा मूल्य बढ्न सक्ने संघले बताएको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।