Logo

ट्राफिक नियममा कडाई : भाडादर नराख्नेलाई कारबाही



कात्तिक १५, काठमाण्डौ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले यात्रुवाहक सवारी साधनमा भाडादरको विवरण नटाँसी यात्रुसँग बढी भाडा लिने सवारीसाधनलाई कारबाही गर्ने भएको छ । महाशाखाले काठमाडौं उपत्यकाका सबै सार्वजनिक सवारी साधनहरुमा भाडादरको विवरण टाँस्नुपर्ने र भाडादरको विवरण नटाँसी यात्रुसँग बढी भाडा असुल्ने यातायातहरुलाई कारबाही गर्ने जनाएको हो । प्रहरीले शुक्रबार देखि नै अभियानकै रुपमा सवारी साधनहरुमा भाडादरको विवरण समेत टाँसिदिएका छन् ।

सार्वजनिक सवारी साधनले नियम विपरीत चर्को भाडा लिने गरेको गुनासो व्यवस्थापन गर्न तथा यात्रुलाई आफनो गन्तव्यसम्मको भाडादर सजिलै थाहा पाई ठगिनबाट रोक्नका लागि यात्रुले देखिने भाडादरको लिष्ट सवारीमा अनिवार्य राख्न कडाइ गरेको ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भिम प्रसाद ढकालले बताए । उनले सवारी साधनले त्यस्तो लिष्ट नराखेको पाइए नियमअनुसार कारबाही गरिने बताएका छन् ।

यातायातमा भाडादरको विवरण टाँस्नुपर्ने भन्दै प्रहरीले अभियान नै चलाएपछि सवारी चालकहरुले पनि उक्त नियमप्रति सहमति जनाउँदै भाडादरको विवरण यातायातामा टाँस्ने बताएका छन् । यात्रुवाहक सवारीसाधनले तोकेको भन्दा बढी भाडा लिने, आरक्षण सिट नराख्ने र राखे पनि कार्यान्वयन नगर्ने, क्षमताभन्दा बढी यात्रु राख्ने र ट्राफिक नियम उल्लङ्घन गर्ने गरेको भन्दै काठमाडौ उपत्यकामा कडा निगरानी तथा चेकजाँच गरिरहेको छ ।

सडक र सवारी प्रयोगकर्ताहरुलाई कुनै पनि समस्या परेमा वा यात्राको क्रममा कुनै जानकारी लिनु परेमा ट्राफिक प्रहरीको हटलाईन १०३ मा फोन गर्न पनि महाशाखाले अनुरोध गरेको छ । माहाशाखाले ठूलो आवाज तथा मोडिफाई गर्ने, हर्न बजाउने, ढोका खुल्ला राख्ने तथा स्वास्थ्य मापदण्ड पालना नगर्ने लगाएत ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी साधनलाई समेत कारवाही गरिरहेको छ । यसैबीच सरकारले कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि काठमाडौं उपत्यकामा लागु गरेको जोर बिजोरको नियम उल्लङ्घन गर्नेलाई कारबाही गरेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले शनिबार पनि जोर बिजोरको नियम पालना भए वा नभएको अनुगमन गरी नियम पालना नगर्ने सवारीसाधनलाई कारबाही गरेको हो । महाशाखाले दशैं सकिएसँगै काठमाडौं उपत्यकामा सवारी साधनको चाप पुनः बढ्न थालेपछि जोरविजोरको नियम पालना भए नभएको अनुगमन गरी नियम पालना नगर्नेलाई कारबाही गरेको हो ।

महाशाखाले दैनीक करिव ४ सय भन्दा बढी दुई पांग्रे र चारपांग्रे सवारी साधनहरुहरुलाई कारबाही गरेको जनाएको छ । लकडाउन र निषेधाज्ञापछि पनि कोरोना संक्रमणको दर बढ्दै गएको छ । कोरोना संक्रमणको दर बढ्दै जाँदा निषेधाज्ञा हटाइएपनि संक्रमणको जोखिम न्युनिकरणका लागि भन्दै सरकारले काठमाडौं उपत्यकामा जोरविजोर प्रणालीलाई कायमै राखेको छ ।



प्रतिक्रिया दिनुहोस्