काठमाडौं, कार्तिक २१ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसमा आगामी फागुन ७–१० मा हुने भनिएको महाधिवशेन एक वर्ष सार्ने प्रस्ताव भएको छ । पार्टी संस्थापन पक्षले २०७८ साल भदौमा १४औं महाधिवेशन गर्ने प्रस्ताव गरेको हो । पार्टीभित्रको विवाद समाधान गरेर नेता रामचन्द्र पौडेल पक्षले निर्धारित समय फागुन ७ देखि १० मै गर्नुपर्ने अडान राख्दै आएको छ ।
पार्टीको विधानअनुसार हरेक चार वर्षमा महाधिवशेन गर्नुपर्ने प्रावधान रहेको छ । नियमित चार वर्षपछि थप गरिएको एक वर्षमा पनि नहुँदा संविधानले दिएको अन्तिम ६ महिनाको समयमा महाधिवेशन गर्ने कानुनी बाध्यतमा कांग्रेस रहेको छ । विशेष समय भन्दै एक वर्षका लागि थपिएको म्याद पनि आगामी फागुन १९ बाट सकिँदै छ ।
सभापति शेरबहादुर देउवाले पौडेल पक्षको १६ बुँदे मागका विषयमा छलफल गर्न आफ्नै निवासमा बोलाएको पदाधिकारी, पूर्वपदाधिकारी र केही केन्द्रीय सदस्यको बैठकमा संस्थापनपक्षकै नेता ज्ञानेन्द्रबहादुर कार्कीले २०७८ भदौमा महाधिवेशन गर्ने विषय उठाएको बताइएको छ । संस्थापनपक्षका नेताबाट महाधिवेशन भदौसम्म सार्ने विषय उठे पनि देउवा निवासमा पौडेल पक्षले तत्कालै प्रतिवाद नगरे पनि असन्तुष्टि जनाएको बताइएको छ ।
महाधिवेशनको तयारी पूर्व गर्नुपर्ने आन्तरिक समायोजनका काम अझै नसकिएको आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।