Logo

कांग्रेसमा कुरा मिलेन, भोली पनि छलफल गरिने



कात्तिक २२, काठमाण्डौ । नेपाली काँग्रेसका पदाधिकारी र पूर्वपदाधिकारी बैठकले केन्द्रीय समिति बैठक अघि नै पार्टीभित्र देखिएका विवाद अन्त्य गर्ने गरि छलफल अघि बढाएको छ । शनिबार कांग्रेस सभापति शेर बहादुर देउवा निबास बुढानिकण्ठमा बसेको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका २७ केन्द्रीय सदस्यले पेस गरेको १६–बुँदे असहमतिका बिषयमा नेताहरुले धारणा राख्ने क्रम जारी रहेको छ । आजको छलफलपछि नेता गगन थापाले केन्द्रीय समिति बैठक अघि नै सहमति जुटाउने प्रयास गरिएको जानकारी दिए ।

आज दिनभर भएको छलफलले पनि देउवा र पौडेल पक्षधरबीच सहमति हुन नसकेको हो । केन्द्रिय समिति आउन २ दिन मात्रै बाँकी रहेको अवस्थामा पनि सहमति नहुनुले २४ गतेको बैठक पनि स्थगित हुने हो कि भन्ने आशंका उब्जिएको छ ।

विभाग गठन, क्रियाशील सदस्यता वितरण, अन्य दलबाट आएका नेता–कार्यकर्ताहरुको समायोजन, भ्रातृ संस्थाको पदावधिलगायतमा विषयमा देखिएको विवाद टुंग्गाउन आइतबार पनि पदाधिकारी र पूर्वपदाधिकारी बैठक बस्ने र ठोस निष्कर्षमा पुग्ने थापाको भनाई छ ।

सहमतिकै लागि भन्दै केन्द्रीय कार्यसमिति बैठक कार्तिक २४ गतेलाई सारिएको छ । बैठकमा सहभागी नेताहरुका अनुसार पौडेल समूहले आफूहरुले उठाएको माग कुनै पनि हालतमा पूरा हुनुपर्ने अडान राख्दै आएका छन् भने देउवा समूहले भने गठन भएको विभाग खारेज नगर्ने भन्दै विभागमा सहभागि हुन चाहनेहरुको नाम दिन पौडेल समूहसँग अनुरोध गरेको बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्