काठमाडौं, २३ कात्तिक । नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष वामदेव गौतम र महासचिव विष्णु पौडेलको घर नजिकै छ । दुई नेता विना खबर एक अर्का कहाँ पुग्ने सम्बन्धका मानिन्छन् । विशेषगरी पौडेल चाहेको बेलामा गौतमको घरमा पुग्थे । कुनै औपचारिकता विना या फोनबाट खबर नगरी पुग्थे ।
गत हप्ता विष्णु पौडेल यसरी नै गौतमको निवासमा पुगे । अर्थमन्त्री बनेका पौडेलले गौतमसँग पार्टीभित्रको विवाद समाधानका विषयमा छलफल गर्न थाले । तर, गौतम झोक्किए ।
विश्वस्त स्रोतका अनुसार गौतमले आइन्दा समय नलिई घरमा नआउन भने । फोनबाट समय लिएर मात्र घरभित्र पस्न भने । पौडेल यो सुनेर नीलो कालो भए । विना जानकारी आउँदा आफू निकटस्थहरुसँग गम्भीर छलफलमा बसिरहेको हुने भन्दै त्यस्तो नगर्न गौतमले भनिदिए ।
पछिल्लो समय पौडेलसँग गौतम रुष्ट छन् । उनलाई निकटस्थले पनि पौडेलको कारण पटक पटक प्रधानमन्त्री केपी शर्मा ओलीबाट धोका भएको सम्झाएका थिए । विगतमा पनि ओलीसँग दुरी बढ्दा पौडेलले मध्यस्थकर्ताको भूमिका निभाउँथे । विहानै मर्निङवाकको लुका लगाएर पुग्थे । कहिले ब्रेकफाष्ट त कहिले लन्च त कहिले डिनर सँगै खाएर गौतमलाई आश्वस्त पार्थे ।
पौडेलको पहलमा प्रधानमन्त्री ओली पत्नी राधिकासहित भैंसेपाटीस्थित गौतम निवासमा केही महिना अघि पुगेका थिए । त्यो भेट अघि गौतमले छ बुँदे सहमतिको प्रस्ताव ल्याएर पार्टीभित्रको विवाद समाधानमा भूमिका खेलेका थिए । तर, त्यसले ओलीलाई लाभ पुगेको थियो । पौडेल पनि ओलीसँगै डिनर मिटिङमा गौतम निवासमा थिए ।
दुई पटक सत्ता संकट टार्न भूमिका खेलेवापत् पौडेल अर्थमन्त्री बनाइए । तर, गौतम मन्त्री बन्नु त कता हो कता राष्ट्रियसभा सदस्यबाट राजीनामा दिनुपर्ने अवस्थामा छन् । उनी अहिले ओलीभन्दा पनि आफ्नै छिमेकी विष्णु पौडेलसँग चिढिएका छन् ।
यसैगरी, गौतम शनिबार पाँच सचिवालय नेताहरुको प्रधानमन्त्री ओलीसँगको संयुक्त भेटमा झोक्किएका छन् । पार्टी सचिवालय बैठक डाक्न ओलीले आनाकानी गर्न थालेपछि गौतम टेबुल सारेर उठ्दै झोक्किएका थिए । उनले ओलीलाई षड्यन्त्र मात्र गर्ने भनी जंगिएका थिए । प्रधानमन्त्री ओलीसँग नेकपा उपाध्यक्ष गौतमबाहेक सचिवालयका अन्य सदस्यहरु कडा स्वरले बोल्न पनि नसक्ने बुझिएको छ ।