झिमरुक, २६ कात्तिक: प्युठानको माण्डवी गाउँपालिका–३ नयाँगाउँका अपाङ्गता भएका दम्पती एकराज र रेश्मा अधिकारीका लागि घर निर्माण कार्य शुरु गरिएको छ ।
लामो समयदेखि भाइले दिएको दुई कोठे ओसारीमा बस्दै आएका अधिकारी दम्पतीका लागि नयाँ घर निर्माण थालिएको हो । वडा नं २ मर्काबाङ्ग ढाडका सामाजिक अभियानकर्मी हरी बस्नेतको नेतृत्वमा विभिन्न क्षेत्रबाट आर्थिक सङ्कलन गरी घर निर्माण कार्य शुरु भएपछि अधिकारी परिवार खुशी भएका छन् ।
अधिकारी परिवारको आर्थिक अवस्था कमजोर भएकाले अभियानकर्मी बस्नेतले विभिन्न संघसंस्था र व्यक्तिबाट अहिलेसम्म रु तीन लाख सङ्कलन गरी निर्माण शुरु गरिएको हो । घर निर्माणमा आवश्यक पर्ने जस्तापाता, ग्रिल, पेन्ट, शौचालयका लागि आवश्यक सामाग्री, विद्युत्लगायत अन्य सामग्री विभिन्न संघसंस्था तथा व्यक्तिले सहयोग गरेका छन् ।
तीन कोठासहित शौचालय निर्माणका लागि गाउँपालिकाका इन्जिनियरले करिब रु छ लाखको लागत स्टिमेटको योजना बनाइएको अभियानकर्मी बस्नेतले बताए । अधिकारी दम्पतीका दुई छोरा र एक छोरी छन् । दुवै अभिभावक बोल्न नसक्ने भएपछि परिवारमा आर्थिक समस्या छ । मङ्सिर महिनाभित्रै निर्माण सम्पन्न गरी अधिकारी परिवारलाई घर हस्तान्तरण गर्ने बस्नेतको योजना छ ।-रासस/File Photo