Logo

नेताहरु को को कोरोना संक्रमित



काठमाडौं, ७ मंसिर । नेपालमा कोरोना भाइरसको संक्रमण बढ्ने क्रम जारी छ । मुख्य शहरहरु कोरोना भाइरसको हटस्पट बनेका छन् । काठमाडौं उपत्यकामा दैनिक हजारौंको संख्यामा संक्रमित थपिने क्रम जारी छ । राजनीतिक दलका नेता, कलाकार, उद्दोगपति देखि जुनसुकै पेशा र क्षेत्रका मानिसहरु संक्रमित भइरहेका छन् ।

पूर्व प्रधानमन्त्री तथा राष्ट्रिय जनता पार्टीका वरिष्ठ नेता डा. बाबुराम भट्टराई कोरोना भाइरसको संक्रमित भएका छन् । उनी पत्नी हिसिला यमीसहित घरमै आइशोलेशनमा छन् । दुवैलाई संक्रमण भएको छ ।

कोरोना संक्रमणबाट गम्भीर अवस्थासम्म पुगेका नेतामध्ये पूर्वमन्त्री मीन विश्वकर्मा हुन् । उनी वीर अस्पतालको आइसियूमा राखिएका थिए । भ्यान्टिलेटर चाहिएपछि वीरमा खाली नहुँदा ग्रान्डीमा लगिए । त्यहाँ एक हप्ताभन्दा बढी भ्यान्टिलेटरमा राखेपछि आइसियूमा राखिए । उनी अहिले कोरोनामुक्त भएका छन् ।

नेपाली काँग्रेसका महामन्त्री डा. सशांक कोइराला पनि कोरोना भाइरसको संक्रमित भए । उनलाई पनि आइसियूमा राख्नुपरेको थियो । ओम अस्पतालमा केही दिन आइसियूमा राखेपछि घरमै आइशोलेशनमा बसेर कोरोना संक्रमण मुक्त भए ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा पनि कोरोना संक्रमित भएका थिए । खेलमा सौखिन उनी दैनिक टेनिसलगायतका खेल खेल्छन् । तैपनि उनी संक्रमित भए । थापाले कोरोनालाई दुई हप्ता नपुग्दै जितेका थिए ।

 

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी पनि कोरोना भाइरसको संक्रमित भए । ८० कटेका पाका कम्युनिस्ट नेतालाई मेडिसिटी अस्पतालमा आइसियूमा राखिएको थियो । उनी अहिले कोरोना भाइरसको संक्रमणमुक्त छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सल्लाहकार टोलीका अधिकांश कोरोना भाइरसको संक्रमण भएको थियो । नेकपा स्थायी कमिटी सदस्य समेत रहेका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, केन्द्रीय सदस्य समेत रहेका सल्लाहकारहरु डा. राजन भट्टराई र सुर्य थापा कोरोना संक्रमित भएपछि आइशोलेशनमा बसेका थिए । उनीहरु एक हप्तामै संक्रमणमुक्त भएका थिए ।

अहिलेसम्म शिर्ष नेताहरु भने कोराना भाइरसको संक्रमणबाट बचेका छन् । अधिकांश शिर्ष नेताहरु ६० कटेका छन् । केहीको उमेर ८० को हाराहारीमा छ । उनीहरुमध्ये कतिपय दीर्घरोगी छन् । त्यसैले अति जोखिममा छन् । चिकित्सकले उनीहरुलाई सुरक्षित रहन सुझाव दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्