मंसिर ८, काठमाण्डौ । रत्नपार्क भन्नासाथ सबैले चिनेको र सुनेको ठाउँ भनेर बुझ्न सकिन्छ । काठमाण्डौको मध्यभागमा रहेको रत्नपार्क ठाउँ मात्रै होइन, नेपाली राजनीतिक परिवर्तनको साक्षी पनि हो ।
यही स्थानमा कैयाँ राजनीतिक कार्यक्रम भएका छन् । र तिनले देश नै परिवर्तन गराएको छ । अब भने उक्त ठाउँको नाम परिवर्तन गरिएको छ । तर रत्नपार्कको नाम परिवर्तन गर्ने काठमाण्डौ महानगरपालिकाको निर्णयको चौतर्फी विरोध भएको छ ।
रत्नपार्क मध्य काठमाडौँमा अवस्थित एक पार्क हो । यसको नामाकरण राजा महेन्द्र पत्नी रानी रत्नको नाममा राखिएको थियो । अहिले देशमा गणतन्त्र आइसकेको छ । तर देशका विभिन्न स्थानमा राजा तथा राजपरिवारका सदस्यहरुको नामबाट स्थान, सडक, चोक आदिको नाम कायमै छ । इतिहाससँग जोडिएको ति नाम अहिलेका समस्या नहुनुपर्ने हो ।
तर काठमाण्डौ महानगरपालिकाले त्यही रत्नपार्कको नाम नै परिवर्तन गरिदिएको छ । महानगरपालिकाले राष्ट्रिय विभूति शंखधर साख्वाको पूर्णकदको सालिक निर्माण गरेसँगै नयाँ नामाकरण गरेको हो । सरकारले नेपाल संवत् ११२० (२०५६ मंसिर ३ गते) साख्वाःलाई राष्ट्रिय विभूति घोषणा गरेको थियो ।
उक्त दिनलाई ‘शंखधर दिवस’ का रूपमा मनाइन्छ । यसअर्थमा शंखधर साख्वा महत्वपूर्ण पात्र हुन् । तर स्थापित भइसकेको रत्नपार्कलाई शंखधर साख्वा नबनाएर अर्को कुनै राम्रो ठाउँ रोजेको भए उचित हुने सर्वसाधारणको सुझाब छ ।
तर महानगरले भने नाम परिवर्तनलाई महत्वपूर्ण भनेको छ । साख्वाको सम्मानका लागि नाम परिवर्तन गरिएको महानगरका प्रवक्ता इश्वरमान डंगोल बताउँछन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले रत्नपार्कको नाम शंखधर साख्वा उद्यान राखेकामा विरोध जनाएको छ । राप्रपाले विज्ञप्ति निकालेर रत्नपार्कको नाम फेर्दा नेपालको मौलिक संस्कृतिका एक धरोहरको अवमुल्यन भएको जिकिर गरेको छ ।
साथै शंखधको सम्मानका लागि छुट्टै उद्यान निर्माण गर्न पनि राप्रपाले सुझाब दिएको छ । साख्वा नेपाल संवतका प्रवर्तक र राष्ट्रिय विभूति समेत हुन् । साख्वाले घरमा ल्याएको बालुवा सुन भएपछि त्यही बेचेर जनतालाई ऋणमुक्त गराएको भन्दै शंखधर दानी व्यक्ति रहेको किंवदन्ती छ ।