काठमाडौं, मंसिर १३ । नेपाल इन्जिनियरिङ कलेज चाँंगुनारायण भक्तपुरका पूर्वअध्यक्ष लम्बोदर न्यौपानेलाई सात दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ।
न्यौपानेलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले बुधबार काठमाडौं चण्डोलस्थित उनकै घरबाट पक्राउ गरेको थियो। कलेजको करोडौं रुपैयाँ हिनामिना गरेको आरोपसहित विशेष अदालतमा मुद्दा दायर भएपछि फरार भनिएका कलेज सञ्चालकमध्येका एक न्यौपानेलाई प्रहरीले पक्राउ गरेको थियो।
नेपाल इन्जिनियरिङ कलेजको विवाद मिलाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकलाई ७८ लाख घुस दिएको प्रकरणमा मुछिएपछि फरार न्यौपानेविरुद्ध सोही कलेजका अन्य दुई सञ्चालक हरि पाण्डे र दीपक भट्टराईले उजुरी दिएका थिए। सोही उजुरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो।
पाण्डे र भट्टराईले कात्तिक २४ गते सिआइबीमा न्यौपानेसहित तत्कालीन सांसद सूर्यबहादुर केसी, रामरत्न उपाध्याय, उपेन्द्र गौतम, लबराज भट्टराईविरुद्ध उजुरी दिएका थिए। सांसद केसीको निधन भइसकेको छ। सिआइबीले उनीहरूविरुद्ध २३ करोड १० लाख २३ हजार ४ सय ४३ रुपैयाँ ठगी गरेको उजुरी परेको जनाएको छ।
उक्त रकम कलेजको लेखापरीक्षणका क्रममा खुलेको उनीहरूको दाबी छ। यस्तै उनीहरूविरुद्ध ८ करोड २१ लाख ५३ हजार ६ सय ५० रुपैयाँ बिगो दाबी गरिएको अनुसन्धान ब्युरोले जनाएको छ।
नेपाल इन्जिनियरिङ कलेजको विवाद मिलाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकलाई ७८ लाख घुस दिएको प्रकरणमा मुछिएपछि फरार लम्बोदर न्यौपानेविरुद्ध सोही कलेजका अन्य दुई सञ्चालक पाण्डे र भट्टराईले उजुरी दिएका थिए।
न्यौपानेले मात्र ३ करोड ७१ लाख ५३ हजार ६ सय ५० रुपैयाँ संस्थाबाट ठगी गरेको सिआइबीमा दिइएको उजुरीमा उल्लेख रहेको आजको नागरिक दैनिकमा खवर छ ।