Logo

चिनियाँ रक्षामन्त्री भोली नेपाल आउँदै, हस्तक्षेपप्रति सचेत हुन सरकारलाई परराष्ट्रविद्को सुझाब



मंसिर १३, काठमाण्डौ । चिनियाँ रक्षामन्त्री एवं पहिलो बरियताका स्टेट काउन्सिलर जनरल वेइ फेङ्गे नेपालको एक दिने औपचारिक भ्रमणका लागि आइतबार नेपाल आउँदैछन् । परराष्ट्र मन्त्रालयले शनिवार प्रेस विज्ञप्ती जारी गरेर उनको भ्रमणका बारेमा औपचारिक जानकारी दिएको हो ।

परराष्ट्र मन्त्रालय र रक्षामन्त्रालयले चिनियाँ रक्षामन्त्रीको भ्रमणको तयारी तीब्र पारेका छन् । पछिल्लो पटक भारतबाट उच्च सुरक्षा अधिकारीहरुको भ्रमण भएलगत्तै चीनबाट पनि रक्षामन्त्री नेपाल आउन लागेका हुन् । दुई छिमेकी राष्ट्रबाट लगातार भएको उच्चस्तरीय भ्रमणलाई महत्वका साथ हेरिएको छ । मित्रराष्ट्रहरुबाट नेपाललाई प्राथमिकतामा राख्नुको पछाडि स्वार्थ हुन सक्ने परराष्ट्रविदहरु बताउँछन् । नेपालमा आफ्नो शक्ति प्रभाव बढाउन यस्ताखाले भ्रमण हरने गरेको चिनका लागि पूर्वराजदुत हिरण्यलाल श्रेष्ठ बताउँछन् । भ्रमणले मित्रता थप बलियो बनाउने भएकाले त्यसतर्फ नेपाल चनाखो हुनुपर्ने श्रेष्ठ बताउँछन् ।

चिन तथा भारतबाट नेपालमा हुने भ्रमण नेपालको चाहनामा नभै उनीहरुकै चाहना, उनीहरुको भ्रमण तालिका र उनीहरुकै आफूखुशी भेटघाट हुने गरेको परराष्ट्र सम्बन्धका जानकारको टिप्पणी छ । चिनियाँ मन्त्रीको भ्रमण महत्वपूर्ण भएका भारत र चिन दुवै राष्ट्रलाई समदुरीमा राख्नका लागि नेपाल सरकार सचेत हुनुपर्नेमा श्रेष्ठले जोड दिएका छन् ।

चीनले नेपालको भूभाग अतिक्रमण गरेको आरोप लागेका बेला मन्त्रीको भ्रमण हुन लागेको हो । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको एक अध्ययनले चिनले नेपालको हुम्लामा जमिन अतिक्रमण गरेर भौतिक ंसंरचना निर्माण गरेको दावी गरेको छ । तर कांग्रेसको दावीलाई चिन र नेपाल सरकारले गलत भनेको छ । अर्कातिर पछिल्ला केही वर्षमा नेपालको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र चीनको कम्युनिस्ट पार्टीबीचको निकटता निकै बढेको छ । यस्तो अवस्थामा रक्षामन्त्रीको भ्रमणले के नतिजा दिन्छ त्यो भने हेर्न बाँकी नै छ ।

कोरोनाको विश्वव्यापी महामारीपछि नेपाल आउन लागेका जनरल वेइ सबैभन्दा वरिष्ठतम चिनियाँ अधिकारी हुन् । उनी नेपाल भएर बंगलादेश र पाकिस्तानको भ्रमणमा जाने कार्यक्रम रहेको छ । उनले आएकै दिन प्रधानमन्त्री एवं रक्षामन्त्री केपी शर्मा ओली, राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेटवार्ता गर्ने कार्यक्रम छ ।



प्रतिक्रिया दिनुहोस्