काठमाडौं, मंसिर १५ । भारतीय विदेश सचिव हर्षवद्र्धन श्रृंगलाले नेपालको दुईदिने औपचारिक भ्रमण गरी फर्केलगत्तै चिनियाँ रक्षामन्त्री जनरल वेई फङ्ह एकदिने नेपाल भ्रमण पूरा गरेर फर्किएका छन् ।
चिनियाँ रक्षामन्त्री वेईलाई गृहमन्त्री रामबहादुर थापाले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए । फर्किंदा पनि गृहमन्त्री थापाले नै बिदाइ गरेका थिए । चिनियाँ रक्षामन्त्री वेईले प्रधान सेनापति पूर्णचन्द्र थापा, प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गरेका थिए ।
आइतवार प्रधानमन्त्री केपी शर्मा ओली र रक्षामन्त्री वेईबीच भएको भेटमा दुई देशबीचको सम्बन्ध समस्यारहित रहेकाले आपसमा भएका सहमति र सम्झौता कार्यान्वयन प्रक्रिया अघि बढ्नेमा साझा धारणा व्यक्त भएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले जानकारी दिए ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको शिष्टाचार भेटका क्रममा प्रधानमन्त्री ओलीले चीनका राज्यपरिषद् सदस्य वेईसँग सन् २०१६ मा आफूले गरेको चीन भ्रमणका क्रममा भएको ‘व्यापार र पारवहन सम्झौता’ र अन्य द्विपक्षीय उच्चस्तरीय भ्रमणका क्रममा भएका सम्झौता कार्यान्वयनका क्रममा रहेको अवगत गराएको परराष्ट्र सल्लाहकार भट्टराईले बताएको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।