Logo

धनी देशमा धमाधम कोरोना भ्याक्सिनको प्रयोग, विपन्न आर्थिक अवस्थाका देशले किन पाएनन् ?



काठमाडौं, ४ पौष । विश्वका धनी देशहरुमा धमाधम कोरोना भाइरसविरुद्धको भ्याक्सिनको प्रयोग धमाधम हुन थालेको छ । कोरोनाविरुद्धको भ्याक्सिन उत्पादन गरेको देशहरुले अन्य धनी देशहरुमा पनि भ्याक्सिन बेच्न शुरु गरेका छन् । ती देशहरुमा पनि भ्याक्सिनको प्रयोग हुन गइरहेको छ ।

रुस कोरोनाविरुद्धको भ्याक्सिन विकास गर्ने पहिलो देश बनेको छ । उसले नै विश्वमा पहिलोपटक भ्याक्सिन सर्वसाधारणमा चलाउन शुरु गरेको थियो । अहिले रुसभर भ्याक्सिन लगाउने लहर चलेको छ । स्पुतनिक भी नामको भ्याक्सिन ९६ प्रतिशत प्रभावकारी रहेको रुसले दाबी गरेको छ ।

अमेरिकामा फाइजर र मोर्डना दुईवटा कम्पनिले भ्याक्सिन उत्पादन गरेका छन् । फाइजरलाई बेलायतले पहिलोपटक प्रयोगको अनुमती दिएको हो । बेलायतले लाखौं डज भ्याक्सिन खरिद गरी खोपाउन शुरु गरेको छ । अमेरिका र क्यानडामा पनि फाइजर भ्याक्सिन लगाउन शुरु भइसकेको छ ।

शनिबार नै अमेरिकाले मोर्डनाले उत्पादन गरेको कोरोनाविरुद्धको भ्याक्सिनलाई प्रयोगको अनुमति दिएको छ । अब यो भ्याक्सिन पनि अमेरिकामा प्रयोगमा आउने बताइएको छ ।

कतारले पनि कोरोनाविरुद्धको फाइजर कम्पनिको भ्याक्सिन प्राप्त गर्ने भएको छ । भ्याक्सिन सोमबार कतार पुग्ने त्यहाँका प्रधानमन्त्री शेख खलिद अल थानीले ट्वीटर गरी जानकारी दिएका छन् ।

साउदी अरबले पनि फाइजर भ्याक्सिनलाई अनुमोदन गरेर आयात गर्ने भएको छ । बहराइनले चीनको सिनोफार्म भ्याक्सिन अनुमोदन गरेको छ । सिंगापुरले फाइजरको भ्याक्सिन अनुमोदन गरी आयात गर्दैछ । चिनियाँ भ्याक्सिन सिनोफार्म बहराइन र संयुक्त अरब इमिरेट्सले प्रयोगमा ल्याउँदैछन् ।

रुसी भ्याक्सिन माग भएका देशहरुमा अर्जेन्टिना, ब्राजिल, इजिप्ट, भारत, काजिकिस्तान, मेक्सिको, नेपाल, कोरिया, उज्बेकिस्तान र भेनेजुएला रहेको जनाइएको छ ।
चीनमा पनि कोरोनाविरुद्धको भ्याक्सिनको आकस्मिक प्रयोग भइरहेको छ । त्यहाँ तीनवटा भ्याक्सिनको विकास भएको छ ।

धनी देशहरुले कोरोनाविरुद्धको भ्याक्सिन उत्पादन गरी विक्री समेत गर्न थालेका छन् । तर, विपन्न आर्थिक अवस्थाका देशहरुले भ्याक्सिन कहिले पाउने हो यकिन छैन । बलिया देशहरुले भ्याक्सिनलाई सामरिक शक्ति हासिल गर्ने अस्त्रका रुपमा पनि प्रयोग गर्न थालेको विषय उठेको छ । पैसा तिर्न तयार भएपनि कमजोर मुलुकहरु भ्याक्सिन पाउने प्राथमिकतामा पर्न सकेका छैनन् ।



प्रतिक्रिया दिनुहोस्