काठमाडौं, ६ पौष । नागरिक अगुवा डा. सुन्दरमणि दिक्षितले प्रधानमन्त्री केपी शर्मा ओलीले सबै अधिकार सर्वोच्च अदालतलाई बुझाइदिएको तर्क गरेका छन् । रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै अब अदालत नै शक्तिशाली बनेको बताए । उनले भने,‘अविश्वासको प्रस्तावको सामना गर्न डराएर ओलीले अधिकार सर्वोच्च अदालतलाई बुझाइदिए ।’
प्रधानमन्त्री ओलीले चालेको कदमलाई असंवैधानिक भन्दै देश संकटमा परेको बताए । उनले नेपाल कम्युनिस्ट पार्टीका सबै प्रमुख नेताहरु दोषी भएको बताए । मुख्य दोषी ओली भएपनि प्रचण्ड, माधवकुमार नेपाललगायत मुख्य नेताहरु पनि उत्तिकै दोषी भएको बताए ।
देश कोरोना भाइरसविरुद्ध संघर्षरत हुँदा मध्यावधि चुनाव घोषणा गर्नु जनहित विपरितको कदम भने । उनले भने,‘अहिले मान्छे बचाउने हो, कुनै नेताको राजनीति बचाउन खर्च गर्ने बेला होइन ।’ जनता बचाउन गर्नुपर्ने खर्च चुनावमा लगाउन खोजिएको भन्दै आलोचना गरे ।