काठमाडौं, माघ १९ । जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरले यहाँका स्थानीय तहमा मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गरेको छ ।
सरकारले आगामी वैशाख महिनामा दुई चरणमा निर्वाचन घोषणा गरेसँगै यहाँको निर्वाचन कार्यालयले मतदाता नामावलीमा रहेको नाम वा विवरणमा रहेको त्रुटि सच्याउने, दोहोरो नाम हटाउन निवेदन दिन तथा मृत्यु भएका, नागरिकता त्याग गरेका मतदाताको नाम हटाउन लागेको जनाएको छ । तीन दिनदेखि आगामी बुधबारसम्म नौ वटै स्थानीय तहमा मतदाता नामावली अद्यावधिक गर्ने कार्य सञ्चालन गरेको निर्वाचन कार्यालयका प्रमुख उदयराज जोशीले जानकारी दिए।
उनले झुटा विवरण दिई मतदाता नामावलीमा नाम समावेश गरेको भए सोको विरोधमा माघ १६ र १७ मा उजुरी दिन सकिने व्यवस्थासमेत गरिएको बताए । “नामावलीमा रहेको आफ्नो नाम वा विवरणमा त्रुटि भए सच्याउन, नाम दोहरो परेको भए हटाउन, मृत्यु भएका, नागरिकता त्याग गरेका मतदाताको नाम हटाउन सूचना दिन र कसैले झुट्टा विवरण दिई मतदाता नामावलीमा नाम समावेश गरेको भए सोको विरोधमा उजुरी दिनुहुन सूचना जारी गरिएको छ ।” कार्यालय प्रमुख जोशीले भने, “थप कार्यक्रम छलफल गरी अघि बढाइने छ ।”
तीन वटा निर्वाचन क्षेत्र रहेको कञ्चनपुरमा दुई लाख ७७ हजार ५९ मतदाता रहेका छन् । एक सय ३२ मतदानस्थल रहेको कञ्चनपुरमा ३३० मतदान केन्द्र रहेका छन् । प्रमुख जोशीका अनुसार यहाँका नौवटै पालिकाको केन्द्रमा सहायक नाम दर्ता अधिकारी खटाएर अध्याधिक थालिएको छ । “दोधारा चाँदनीमा रहेको माहामाया माविमा रहेको मतदान केन्द्रलाई भानु बहुमुखी क्याम्पसमा पुर्नवलोकन गर्न हामीले आयोगलाई सिफारिस गरेका छौँ”, उनले भने “सिफारिस यहाँबाट गरे पनि निर्णय आयोगले गर्छ ।”
निर्णय भए पनि सीमानाका खुलेनन्
सरकारले कोरोना भाइरस नियन्त्रणका लागि गत वर्ष चैतदेखि नेपाल–भारत सीमा नाकामा गरेको कडाइ सरकारले खुलाउने निर्णय गरे पनि कार्यान्वयनमा आइसकेको छैन । तीन दिनअघि सरकारको मन्त्रिपरिषद्बाट सुदूरपश्चिममा रहेका नेपाल–भारत सीमानाका खुला गरे पनि यात्रुहरुलाई भने स्थानीय प्रशासनले सहजरुपमा आवागमन गर्न नदिएको गुनासो छ ।
कञ्चनपुरसित जोडिएको गड्डाचौकी नाका र डोकेबजार नाकाबाट भारतमा मजदूरीका लागि जाने नेपालीलाई प्रक्रिया पूरा गरेर जान दिइए पनि यात्रा भने सहज नभएको उनीहरुको भनाइ छ । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले सीमा नाका निर्वाधरुपमा खुला नरहेको जानकारी दिए ।“ मन्त्रिपरिषद्ले गरेको निर्णयका विषयमा हामीले बोल्न मिल्दैन”, उहाँले भन्नुभयो, “औषद्योपचारलगायत अत्यावश्यक कामका लागि हामीले सिफारिस गरेको आधारमा भारत आउने÷जाने भइरहेको छ ।”
उहाँले नाका सुचारु भएको विषयमा प्रशासन कार्यालयले सूचनासमेत जारी नगरेको बताउनुभयो । भारत जाने नेपालीलाई भारतीय पक्षबाट पनि यहाँका नाकामा रोकटोक छैन । कञ्चनपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष जङ्गबहादुर मल्लले नाका खुलाउने विषयमा भारतीय पक्षसित पनि समन्वय हुनुपर्नेमा जोड दिए । “मन्त्रिपरिषद्को निर्णयले यहाँ झन अलमल जस्तो भयो”, उहाँले भन्नुभयो, “नेपाली पक्षले मात्रै खुलाएर भएन भारतीय पक्षसित पनि समन्वय गरेर नाका निर्वाधरुपमा सञ्चालन गर्नपर्छ ।”रासस