काठमाडौं, २० माघ । महान्यायाधिवक्ता अग्नि खरेलले विघटन भएको प्रतिनिधि सभा नै किन चाहियो भनी प्रश्न गरेका छन् । उनले बहुमतप्राप्त प्रधानमन्त्रीले ताजा जनादेशका लागि जनतामा जान पाउनुपर्ने भन्दै प्रतिनिधि सभा विघटन गरी चुनाव घोषणा गर्नु संवैधानिक भएको जिकिर गरे ।
‘त्यही प्रतिनिधि सभा किन चाहिएको ?’ आज प्रतिनिधि सभा विघटनविरुद्ध संवैधानिक इजलासमा बहसका क्रममा खरेलले प्रश्न गरे,‘किन जिद्दी गरेको ?’ प्रधानमन्त्री केपी शर्मा ओलीले ताजा जनादेशमा गएर अर्को प्रतिनिधि सभा गठनको मार्ग खोलेको तर्क गर्दै प्रतिनिधि सभालाई समाप्त नगरेको बताए ।
जनताको बीचमा जुन वाचा गरे आएको हो त्यो गर्न नदिएपछि प्रधानमन्त्री फेरि जनताको बीचमा जान चाहेको तर्क गरे । उनले भने,‘प्रधानमन्त्रीले जनताको बीचमा जान किन नपाउने ?’
प्रधानमन्त्री केपी शर्मा ओलीले ५ पौषमा मन्त्रिपरिषदबाट प्रतिनिधि सभा विघटनको सिफारिश गर्ने निर्णय गराएर राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पठाएपछि त्यसलाई सदर गरिएको थियो । त्यसविरुद्धसंवैधानिक इजलासमा सुनुवाई भइरहेको छ ।-फाइल तस्बिर