काठमाडौं, २१ माघ । पूर्व गृहसचिव प्रेमकुमार राई आजबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त नियुक्त भएका छन् । उनले राष्ट्रपति भवन शितलनिवासमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराबाट सपथ लिएपछि अख्तियारमा पदभार ग्रहण गरेका हुन् ।
अख्तियारमा पुगेका राईसहित दुई नवनियुक्त आयुक्तलाई आयुक्त सावित्री थापा गुरुङले स्वागत गरेकी थिइन् । स्वागतमा सचिव सुरेश अधिकारी पनि सहभागी थिए । तर, कार्यवाहक प्रमुख आयुक्त गणेशराज जोशी अनुपस्थित रहे । उनले राजीनामा दिने चर्चा चलिरहेको छ ।
विगतमा जोशी र थापा आयुक्त हुँदा राई अख्तियारको सचिवका रुपमा काम गरेका थिए । यसपटक राई प्रमुख आयुक्त हुँदा जोशी र थापा आयुक्तमा सिमित भएका छन् । यसले उनीहरुमाथि दबाब बढेको थियो । तर, थापा केही महिना पदमै रहने निश्चित भएको छ ।
संवैधानिक परिषद्को अध्यादेशमार्फत् संशोधित ऐन अनुसार अख्तियारको प्रमुख आयुक्तमा प्रेमकुमार राई आयुक्तहरुमा पूर्व एआइजी जयबहादुर चन्द र उच्च अदालत पोखराका पूर्व कायममुकायम मुख्य न्यायाधीश किशोरकुमार सिलवाल नियुक्त भएका हुन् । तस्बिरः मुकुन्द कालिकोटे/ रिपोर्टर्स नेपाल