काठमाडौं, माघ २२ । गृह मन्त्रालयले बिहीबार निर्धक्क भएर आफ्नो पेशा व्यवसाय गर्न आम नागरिकलाई आग्रह गरेको छ। नेकपा प्रचण्ड–नेपाल समूहले आम हड्तालको घोषणा गरे लगत्तै मन्त्रालयले यस्तो आग्रह गरेको हो ।
मन्त्रालयले बुधबार साँझ विज्ञप्ति जारी गर्दै दैनिक रूपमा सञ्चालित उद्योग, पेशा, व्यवसाय सञ्चालनमा कुनै बाधा अवरोध पुग्न नदिने गरी सुरक्षा निकायबाट आवश्यक सुरक्षा व्यवस्था मिलाइने बताएको छ । मन्त्रालयले यातायात व्यवसायीलगायत सबै व्यवसायीलाई निर्धक्क आ–आफ्नो उद्योगधन्दा पेशा व्यवसाय सञ्चालन गर्न अनुरोध गरेको हो ।
मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले जारी गरेको विज्ञप्तिमा आम नागरिकबाट प्रचलित कानुनको पालना गरी शान्ति सुव्यवस्था कायम गराउने कार्यमा सदाझै निरन्तर सहयोगको लागि समेत अपील गरिएको छ।