काठमाडौं, २२ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई उपद्रो नमच्चाउन चेतावनी दिएका छन् । उनले संविधान मान्दिन भनेको विगत र अहिलेमा धेरै अन्तर भइसकेकाले कानुन र संविधान मान्न भनेका हुन् ।
‘हिजो पो प्रचण्डजीले संविधान मान्दिनँ भन्नुभएको थियो,’ अखिल नेपाल किसान संघको राजधानीमा आयोजित राष्ट्रिय भेलामा ओलीले भने, ‘उपद्रो मच्चाउने दिन गए ।’
प्रचण्डले निर्वाचन आयोग, अदालतलगायतका निकायलाई धम्क्याएको आरोप लगाए । प्रचण्ड अक्रामक ढंगले आइरहेको बताउँदै भने, ‘धाकधक्कु लगाउनुहुन्छ, कानुन मान्नुहुन्न, हप्कीदप्की लाउनुहुन्छ, सिडिओ र प्रहरीलाई हप्कीदप्की गर्नुहुन्छ । कानुनको पालना गर्न सिक्नुहोस् ।’
आमहडताल गरेर जनतालाई दुःख दिएको बताउँदै ओलीले प्रचण्डमाथि गाडी चढेर तमासा हेरेको आरोप लगाए । उनले भने, ‘एकजना गाडी चढेर जनताले कति दुःख पाएको रमिता हेर्दै हिंडेका छन्, अर्का मोटरसाइकल चढेर हिंडेका छन् ।’ प्रचण्ड र माधव नेपालले कम्युनिस्टको खोल मात्र ओढेको टिप्पणी गरे ।
किसान र सुकुम्वासीको समस्या समाधान गर्न माधवकुमार नेपालले अवरोध गरेको ओलीको आरोप थियो । उनले भने, ‘सुकुम्वासी आयोग बनाउँदा सिलिङमाथि टाउको ठोक्किने गरी माधव नेपाल आउनुभयो । नवलपरासीको अन्धभक्त वकिल लगाएर मुद्दा हाल्न लगाउनुभयो, अहिलेसम्म मुद्दा जारी छ ।’
माधव नेपालकपाल लुछिलुछि छाति पिटिपिट रोइरहेको ओलीको टिप्पणी थियो । उनले माधव नेपालप्रति व्यङ्ग्य गर्दै भने, ‘हलो कोदालो समातेको छैन कहिले, धान कसरी रोप्छन् रोपेको छैन, नजोती खान पाएपछि किन जोत्ने । कृषि भुमि क्षेत्रको समस्या बुझ्न चाहन्नुहुन्न ।’
–तस्बिर मुकुन्द कालिकोटे