चितवन, २४ माघ । भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहाल शिलान्यास र उद्घाटनहरुमा सक्रिय भइरहेकी छिन् । उनले आज गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माणलाई सहयोग जुटाउन आयोजित कलाकार र खेलाडीबीच क्रिकेट प्रतियोगिताको उद्घाटन गरेकी छिन् ।
रेनुले कलाकार सीताराम कट्टेल धुर्मुसले बलिङ गर्दा ब्याटिङ गरिन् । प्रतियोगितामा धुर्मुस सुन्तली, सुनिल थापालगायत नाम चलेका कलाकारहरु सहभागी थिए ।
कार्यक्रममा भरतपुर महानगरका प्रमुख दाहालले महानगरले आफ्नो गौरबको आयोजना समयमै पुरा गर्न हर प्रकारको सहयोग गरिरहेकोे बताइन् । उनले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला सम्पन्न गर्न देश तथा विदेशमा रहेकालाई सहयोग गर्न आग्रह गरिन् ।
कार्यक्रममा महानगर उपप्रमुख पार्बती शाह ठकुरी, चितवन उद्योग संघका अध्यक्ष राजु पौडेल, उद्योग वाणिज्य संघका अध्यक्ष राजु श्रेष्ठ,लगायत सहभागी थिए। कार्यक्रम गृष्म इभेन्ट म्यानेजमेन्टका प्रबन्ध निर्देशक गेहेन्द्र घिमिरेको व्यवस्थापनमा भएको थियो ।