Logo

अक्सफोर्ड खोप प्रयोग गर्न डब्लूएचओको अन्तरिम सिफारिस



एजेन्सी, ३० माघ। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले अक्सफोर्ड विश्वविद्यालय तथा एस्ट्रेजेनेकाले विकास गरेको कोभिड–१९ विरुद्धको खोप प्रयोग गर्न सिफारिस गरेको छ ।विश्व स्वास्थ्य संगठनको खोप लगाउने विज्ञहरुको रणनीतिक सल्लाहकार समूह (सेज) ले समेत अन्तरिम सिफारिस गर्दै सबै उमेरका वयस्कहरुलाई खोप दिन सकिने बताएको हो ।

सेजले गरेको अन्तरिम सिफारिसमा यो खोपले ६३ प्रतिशत काम गर्ने बताइएको छ ।संगठनले नयाँ भेरिएन्ट देखिएका देशहरुमा पनि यो खोपको प्रयोग गर्न मिल्ने बताएको छ । यस्तै, पहिलो खोप लगाएको ८ देखि १२ हप्तामा अर्को खोप लगाउन उचित हुने सुझाव समेत विश्व स्वास्थ्य संगठनको छ ।

अक्सफोर्डले विकास गरेको खोप अन्य खोपभन्दा निकै सस्तो र भण्डारण गर्न सहज भएकाले विश्वभर कै लागि सबैभन्दा बढी उपयुक्त हुने विश्वास गरिएको छ । तर, कोरोनाभाइरसका नयाँ भेरिएन्टहरुमा भने यो उति प्रभावकारी नदेखिएको भन्दै यसको प्रयोग बारे सर्वत्र अन्योल भइरहेको पनि छ ।डब्लूएचओकी खोप कार्यक्रम निर्देशक डा. क्याथरिन ओब्राइनले दक्षिण अफ्रिकामा भएको अध्ययनबाट मात्रै निष्कर्ष निकाल्न नसकिने बताउँदै खोपले गम्भिर प्रकारको संक्रमण हुनबाट जोगाउने नै देखिएको बताएकी छन् ।

अक्सफोर्ड भ्याक्सिन ट्रायलका प्रमुख अनुसन्धानकर्मी प्राध्यापक सारा गिल्बर्टले विश्व स्वास्थ्य संगठनबाट खोपको प्रयोगको लागि सिफारिस पाउनु महत्वपूर्ण समाचार भएको बताइन् । उनका अनुसार विश्व स्वास्थ्य संगठनको सिफारिस पछि खोपको प्रयोग व्यापक रुपमा हुनसक्छ र त्यसले महामारी नियन्त्रणलाई सहयोग पु¥याउँछ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्