Logo

देउवाद्वारा चुनाव हुने ठोकुवा, तयारीमा लाग्न कार्यकर्तालाई आग्रह



काठमाडौं, ७ फागुन । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले चुनाव हुने ठोकुवा गरेका छन् । उनले पार्टीका नेता कार्यकर्तालाई चुनावको तयारीमा लाग्न आग्रह समेत गरेका छन् ।

‘चुनावको तयारी गर्नुपर्दैन ?’ आज काँग्रेस नुवाकोट जिल्ला कार्यसमितिको भवन उद्घाटन गर्दै देउवाले भने,‘चुनाव हुन्छ हुन्छ ।’ उनले चुनाव हुँदैन भनेर नबस्न आग्रह समेत गरे ।

विगतमा चुनाव हुँदैन भन्दा भन्दै चुनाव भएको स्मरण गराउँदै यसपटक पनि चुनाव हुने बताए । नेपाल कम्युनिस्ट पार्टीको दुवै समूह चुनावी तयारीमा लागिसकेको देउवाको भनाई थियो । उनले भने,‘ चुनावमा जानका लागि निर्वाचन चिन्हका लागि लडिराखेका छन् । चुनावको तयारी गरिरहेका छन् । हाम्रो चुनाव हुँदैन भनिरहेका छन् । चुनाव भयो भने नि ?’

चुनाव देखि नडराउन समेत देउवाले आग्रह गरे । चुनाव देखि डराउने हो भने राजनीतिबाट सन्यास लिनुपर्ने बताए ।

देउवाले अदालतको निर्णय आउन बाँकी रहँदै धम्क्याउने गतिविधि गरेको भन्दै प्रचण्डको आलोचना गरे । उनले भने, ‘प्रचण्डले अदालतलाई तर्साउने ?’ धम्कीको भरमा अदालतले निर्णय गर्ने अवस्था नरहने समेत बताए । उनले अगाडि भने,‘ यस्तै हो भने जसले बढी धम्क्याउँछ तर्साउँछ उसले भनेको गरिदिए भइहाल्यो नि ।’ अदालतलाई विश्वास गर्न आग्रह गर्दै आफ्नो दलले निर्णय जे आएपनि मान्ने बताए ।

देउवाले पार्टीका नेता कार्यकर्तालाई प्रचण्डविरुद्ध पनि बोल्न भने । उनले कम्युनिस्टको शासन आएमा रुन पनि नपाइने भनेको स्मरण गराउँदै ओलीविरुद्ध बोल्न थालेको र अब प्रचण्डविरुद्ध पनि बोल्न भने ।

काँग्रेस केन्द्रीय सदस्य प्रकाशमान सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधि सभा विघटन गर्ने कदमको चर्को आलोचना गरे । उनले ओली समूहलाई जतिसक्दो चाँडो बिदा गर्नुपर्ने बताए ।



प्रतिक्रिया दिनुहोस्