फागुन ८, काठमाण्डौ । पछिल्लो समय अनपेक्षित तथा आकस्मिक गर्भ रोक्ने गर्भनिरोधक चक्कीको प्रयोग बढेको पाइएको छ । १५ देखी २० प्रकार सम्मका ७२ घण्टे गर्भ निरोधक चक्कीको खुलेआम प्रयोग गर्न बढेसँगै स्वास्थ्यमा खतरा पनि थपिएको छ । त्यस्ता चक्कीले अनिच्छित गर्भ रोक्ने भए पनि दिर्घकालिनरुपमा स्वास्थ्य बिग्रनेप्रति सचेत रहन चिकित्सकहरुले सुझाब दिएका छन् ।
असुरक्षित यौन सम्बन्धपछि गर्भ रहन नदिन आकस्मिक गर्भनिरोधक साधनको प्रयोग गरिन्छ । आकस्मिक गर्भनिरोधक चक्कीले शुक्राणु र डिम्बमा रासायनिक परिवर्तन गरेर गर्भ रहनबाट रोक्छ । तत्कालिका लागि हुने यो फाइदाको पछि लागेर गर्भनिरोधक चक्कीको प्रयोग गर्दा त्यसले दीर्घकालिन रुपमा पार्ने प्रभावप्रति भने युवा पुस्ता बेखबर जस्तै छन् । गर्भ निरोधक चक्की १५ देखि २५ वर्ष उमेर समूहका युवतीहरुले बढी मात्रामा प्रयोग गर्ने गरेको औषधी पसलेहरु बताउँछन् ।
वरिष्ठ स्त्री रोग विशेषज्ञ डा भोला रिजालको बुझाइमा युवा पुस्ताले चिकित्सकको सल्लाहबिना नै त्यस्ता चक्कि सेवन हुने गरेको छ । गर्भ रोक्नका लागि अन्य धेरै साधन भए पनि किन हानिकारक मानिएको चक्की नै खाने गर्छन् त ? डा. रिजालका अनुसार कण्डमको प्रयोग गर्दा यौन सन्तुष्टी कम हुने भ्रमका कारण प्रत्यक्ष यौन सम्पर्क गर्ने अनि चक्की खाने गर्दछन् । डा. रिजालको यो तर्कलाई औषधि पसलेहरुले पनि पुष्टी गरेका छन् । उनीहरुका अनुसार पछिल्लो समय कण्डमको विक्री नै घटेको छ । ८० प्रतिशतसम्म कण्डमको विक्री घटेको उनीहरुको अनुमान छ ।
आकस्मिक गर्भनिरोधक चक्की लिनुअघि स्वास्थ्य अवस्थाबारे जानकारी लिनु जरुरी छ । किनकी लगातार यसको प्रयोगले पछि स्वास्थ्यमा जोखिम बढाउने डा. रिजाल बताउँछ । हर्माेनसँग सम्बन्धित औषधि भएकाले हर्माेनमै गडबड ल्याउन सक्छ । सामान्य शारीरिक प्रक्रियालाई यो औषधिले अनियमित बनाएर गर्भपतन गराउने भएकाले स्वास्थ्यमा जोखिम हुन सक्ने डा रिजाल बताउँछन् ।
गर्भनिरोधक चक्कीका प्रयोगकर्ता महिलामा मुटुरोग भएमा वा भएर भल्भ फेरेको भएमा ज्यान नै जोखिममा पर्ने सम्भावना हुन्छ । त्यसैगरी अल्सर, प्रेसर भएमा यसले बढाउने र माइग्रेन समस्या निम्त्याउन सक्ने समेत हुन सक्छ ।
सन् २००३ देखि नेपालमा गर्भपतन कानुनी छ । यसबारे नेपालका अधिकांश महिलाले थाहा पाएका छैनन् । अविवाहित युवतीले गर्भपतन गर्नु सामाजिक रूपमा गलत ठानिने भएकाले पनि ज्यान जोखिममा राखेर आफूखुसी औषधि किनेर ‘मेडिकल एबोर्सन’ गराउनेहरू बढेका छन् । पटक–पटकको गर्भपतन अझ जोखिमपूर्ण हुन्छ ।
अनियमित रजस्वला भएका, स्टेरोइड थेरापी लिएका दमका रोगी, जन्डिस भएका, रक्तअल्पता भएका, उच्च रक्तचाप भएका, यौनरोग लागेका, पाठेघरमा संक्रमण भएका, मुटुरोग लागेकाले मेडिकल एबोर्सन गराउन मिल्दैन । तर, असुरक्षित रूपमा गरिने मेडिकल एबोर्सनमा यी कुरा जाँच तथा सोधखोज हुने सम्भावना कम हुन्छ । मेडिकल एबोर्सन होस् वा सर्जिकल, दुवैले शरीरलाई हानि गर्छन् । गर्भपतनलाई नै परिवार नियोजनको साधनजस्तो ठान्नु गम्भीर जोखिम निम्त्याउनु हो ।
परिवार नियोजनसम्बन्धी परामर्श, औषधिको मात्रा र खाने विधि, गर्भावस्थाको सामान्य ज्ञान, यसका जटिलताका बारेमा जानकारी लिएर मात्रै आकस्मिक गर्भपतन चक्की सेवन गर्ने वा मेडिकल गर्भपतन गराउन निर्णयमा पुग्नु राम्रो हुन्छ । गर्भनिरोधक चक्कीको प्रयोग गर्नुअघि आफ्नो स्वास्थ्यका सवालमा गम्भीर हुनु जरुरी छ ।