Logo

ओली-देउवा अघोषित समिकरण कहिलेसम्म ?



काठमाडौं, १९ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच अघोषित समिकरण लामोसमययता चलिरहेको छ । ओली प्रधानमन्त्री र देउवा प्रमुख प्रतिपक्षी दलको नेता भएपनि दुवैबीच बलियो अघोषित समिकरण चलिरहेको देखिन्छ ।

ओली प्रधानमन्त्री भएपछि देउवाले निकै सहज बनाइदिएका छन् । संवैधानिक नियुक्तिहरुमा पनि देउवाले भागवण्डामा सहमति जनाउँदै आए । जसका कारण उनले ओलीलाई अप्ठ्यारो पारेनन् । बरु ओलीबाट फाइदा लिन लागिरहे ।

ओली सरकारको विरोधमा पनि देउवा खासै देखिएनन् । उनी बरु सहयोगी भूमिकामा रहे ।

प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गर्दा देउवा कडा रुपमा प्रस्तुत भएनन् । बरु उनी ओलीकै शैलीमा चुनावको पक्षमा उभिए । प्रतिनिधि सभा विघटनपूर्व भएको संवैधानिक निकायको नियुक्तिमा देउवा निकटस्थहरु पनि परे । यसबाट पनि भित्री रुपमा सहकार्य खुल्यो ।
प्रतिनिधि सभा विघटनपछि प्रचण्ड र माधवकुमार नेपाल प्रधानमन्त्रीको प्रस्ताव लिएर देउवाको निवास बुढानिलकण्ठ पुगे । देउवाले पुनःस्थापनाको पक्षमा साथ दिएमा प्रधानमन्त्री बन्न साथ दिने शर्तसहितको प्रस्ताव लगेपनि तयार भएनन् । पुनःस्थापनापछि पनि प्रचण्ड र नेपाल पुगे । तर, देउवा सकारात्मक भएनन् ।

यसरी ओलीसँग देउवाको निकटता हुनुमा उनले प्रचण्डलाई अविश्वास गर्नु पनि मुख्य कारण हो । विगतमा तत्कालिन माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले संसदीय चुनावमा देउवाको साथ छाडेर ओलीसँग चुनावी सहकार्य गरेका थिए । जबकि देउवाले स्थानीय चुनावमा प्रचण्डलाई दरिलो सहयोग गरेका थिए । प्रचण्डकी छोरी रेनु दाहाललाई भरतपुर महानगरपालिकाको मेयर जिताउन देउवाले पार्टीभित्र ठुलै बल प्रयोग गरेका थिए । तर, प्रचण्ड ओलीसँग सहकार्यमा पुगेपछि देउवा चिढिए ।

अमेरिकी सहयोगसम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को विषयमा पनि देउवाको ओलीसँग मत मिल्छ । दुवै एमसीसी पारित गर्नुपर्ने पक्षमा छन् । प्रचण्ड एमसीसीको विपक्षमा देखिदै आएका छन् । यसले पनि देउवालाई ओलीसँग नजिक ल्याएको छ । देउवा यही विषयका कारण पनि अझै ओलीसँग मिलेर जाने पक्षमा छन् ।-फाइल तस्बिर



प्रतिक्रिया दिनुहोस्