काठमाडौं, २० फागुन । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव र गैरआवासीय नेपाली संघका अध्यक्षको नेतृत्वमा संघका एक प्रतिनिधि मण्डलको लाप्राक नमूना बस्तिको निरिक्षण भ्रमण भएको छ । गैरआवासीय नेपाली संघका अध्यक्षको नेतृत्वमा संघका एक प्रतिनिधिमण्डल र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव मणिराम गेलालले निर्माणाधिन लाप्राक नमूना बस्तिको निरक्षण भ्रमण गरेको जनाईएको छ । संघले जनाएअनुसार उक्त भ्रमण टोलीमा २० जनाको सहभागिता रहेको थियो ।
संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले विश्वभर फैलिएका गैरआवासीय नेपालीहरुको सहयोगमा निर्माण भईरहेको नमूना बस्तिको काम अन्तिम चरणमा पुगेकोमा निर्माण कार्यमा संलग्न हुने र सहयोग गर्ने सम्पूर्ण व्यक्तिहरुलाई धन्यवाद दिए । उनले ‘घर निर्माणका अन्तिम कामहरुमा सहभागी हुन लाभग्राहीहरुलाई सुझाव दिए ।
त्यस्तै, संघका पूर्व अध्यक्ष जीवा लामिछानेले बस्तिको निर्माण कार्यमा केही ढिलाई हुन गएतापनि अब लगभग काम सकिएकोले आफ्नो घर तथा आँगनको सजिसजावट र निर्माण कार्यमा सहभागी हुने उपयुक्त अवसर भएकोले लाभग्राहिहरुलाई यस अवसरको उपयोग गर्न सुझाव दिए ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव मणिराम गेलालले बिभिन्न कठिनाईका बावजुत पनि यस्तो सुन्दर बस्ति निर्माण गरिदिएकोमा सम्पूर्ण गैरआवासीय नेपालीहरुलाई धन्यवाद व्यक्त गर्दै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका तर्फबाट पूर्वधार बिकासको लागि प्रति लाभग्राहि प्राप्त हुने रु ४ लाख अनुदान दिन प्राधिकरण कटिवद्ध रहेको र त्यसमध्ये रु. एक करोड पैंतिस लाखको लागतमा बस्तिको दक्षिणतर्फको रिटेनिङ्ग वाल र नाला निर्माण गरिसकेको अवगत गराए ।
गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले संघको अथक प्रयास र परिश्रमबाट यो बस्ति निर्माण भएकोले यसप्रति सधैं संघको लगाव रहने र भविष्यमा पनि यस बस्तिमा गैरआवासीय नेपालीहरुको आगमन निरन्तर रहेने विश्वास दिलाए ।
उनले लाभग्राहिरुलाई लालपूर्जा उपलब्ध गराउने र पूर्वाधार निर्माणमा समेत संघले प्राधिकरणलाई घचघचाई रहेको जानकारी गराउंदै १२ बैशाख २०७८ मा अधिकारिक रुपमा बस्ति हस्तान्तरण गर्ने कार्यक्रम तय भएकोले सो समयभित्रै बस्ति निर्माणका अन्तिम कामहरु सम्पन्न गर्न लाभग्राहीहरुलाई सचेत गरे ।
उनले बस्ति निर्माणमा सहयोग गर्ने राष्टिय पुनर्निर्माण प्राधिकरण, शहरी बिकास मन्त्रालय, गैरआवासीय नेपालीहरु, केयर नेपाल, नेपाली सेना, लाभग्राहिहरु र गाउंपालिका तथा बडा कार्यालयलाई धन्यवाद व्यक्त गरे ।
लाभग्राहीका तर्फबाट वडाअध्यक्ष राज गुरुङ्गले स्वागत मन्तव्य व्यक्त गर्दै बस्ती अब छिटो सम्पन्न हुनेमा लाभग्राहिहरु विश्वस्त भएको र सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । परियोजनाका सह–संयोजक श्याम तामाङ्गले बस्ति निर्माणसम्बन्धी भएका प्रगतिहरुबारे जानकारी गराउँदै बाँकी काम एक महिनाभित्र सहजै सम्पन्न गर्न सकिने विश्वास व्यक्त गरेका थिए ।
सो अवसरमा संघका उपाध्यक्ष तथा परियोजना संयोजक सोनाम लामाले लाभग्राहिहरुकै अनुरोधमा संघले ‘आफ्नो घर आफैँ बनाउ’ अभियानअन्तर्गत लाभग्राहीहरुलाई थप आय आर्जनको अवसर प्रदान गर्न सहमतिको दररेटमा कामको जिम्मा दिईएको भएतापनि काम सम्पन्न हुन ढिलाई भएको औंल्याए । उनले समयमै काम सम्पन्न गर्न पुनः बाहिरबाट कामदारहरु लानपर्ने अवस्था आएकोमा दुःख प्रकट गरे ।
गैरआवासीय नेपाली संघ सचिवालयले जनाएअनुसार सो भ्रमण टोलीमा संघका उपाध्यक्ष डा. बद्री केसी, सल्लाहकार कूल आचार्य, क्षेत्रिय उपसंयोजकद्वय कृष्ण तिमिल्सिना र मनोज श्रेष्ठ, मध्य पूर्वका पूर्व क्षेत्रिय उपसंयोजक राजु शैयद, अन्तर्राष्ट्रिय समन्वय परिषदका सदस्य चिन्तामणि सापकोटा, राष्ट्रिय समन्वय परिषद युएसएका पूर्व अध्यक्ष केशव पौडेल र वर्तमान उपाध्यक्ष बुद्धि सागर सुवेदी, पूर्व परियोजना निर्देशक सुवास अधिकारी, संचारकर्मीहरु तथा संघका कार्यकारी निर्देशकको सहभागिता रहेको थियो ।