काठमाडौं, २ चैत्र । राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ विरुद्धको खोप लगाएकी छिन् । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा रहेको खोप केन्द्रमा पुगेर राष्ट्रपति भण्डारीले आज उक्त खोप लगाएकी हुन् । खोप लगाइसकेपछि उनले भनिन,“विश्व नै कोरोना महामारीका कारण आक्रान्त भइरहेको बेलामा वैज्ञानिकले अध्ययन एवं परीक्षण गरेर कोरोना विरुद्धको खोप हामीलाई उपलब्ध भएको छ । यो निकै खुशीको कुरा हो ।”
सरकारले नेपालमा समयमा नै कोरोना विरुद्धको खोप ल्याएर चरणवद्ध रुपमा लगाउन शुरु गरेको भन्दै राष्ट्रपति भण्डारीले प्रसन्नता व्यक्त गरिन् । नेपाल सरकारले समयमा नै खोप ल्याएर जनताको जीवनरक्षालाई पहिलो प्राथमिकता राखेकामा उनले खुशी व्यक्त गरिन् ।
पहिलो चरणमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मीले खोप लगाएको र अन्यले पनि चरणबद्ध रुपमा लगाइरहेको सन्दर्भमा राष्ट्रपतिले आफ्नै उमेर समूह पर्खेर बसेको जानकारी दिईन्।
“ज्येष्ठ नागरिकलाई पनि लगाउने क्रम चलेको छ । म मेरै उमेर समूह पर्खेर बसेको थिए । यसैबीचमा मैले मित्रराष्ट्रको भ्रमण गर्नुपर्ने कार्यक्रम तय भयो” उनले भनिन्,“खोप नलगाई जाँदा मिश्रित प्रतिक्रिया आउने भएकाले टार्न नसकिने भयो ।” तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम