काठमाडौं, चैत ३ । यस वर्षको स्प्रिङ ९वसन्त० सिजनमा हुने पर्वतारोहणका लागि परमिट जारी सुरु गरिएसँगै आरोहण दल तथा पर्वतारोहीको सुरक्षाका लागि आवश्यक तयारी थालिएको छ । पर्यटन विभागले २०२१ को स्प्रिङ सिजनका लागि दुईओटा आरोहण दलका लागि परमिट जारी गरिसकेको छ । यससँगै पर्वतारोहण गराउँदै आएका संस्थाहरूले पर्वतारोहीको सुरक्षा तथा आरोहण सहज बनाउन तयारी सुरु गरेका छन् ।
विभागले यो सिजनको शुरुआतमै ७ हजार ८६४ मिटरको नुप्त्से हिमाल र ८ हजार १६३ मिटरको मनास्लु हिमाल आरोहणका लागि दुईओटा दललाई परमिट जारी गरेको छ । ती दलबाट ५ जनाले ती हिमाल आरोहण गर्नेछन् । विभागका अनुसार नुप्त्से हिमाल ४ जना र मनास्लु हिमाल १ जनाले आरोहण गर्नेछन् । यसबाट विभागले कुल ४ लाख ९१ हजार रुपैयाँ रोयल्टी संकलन गरेको छ । गत वर्ष २०२० को यस सिजनमा पर्वतारोहण शून्य थियो । कोरोना महामारीका कारण २०२० को वसन्त सिजनमा हिमाल आरोहण भएको थिएन ।
तर, २०२१ को यस सिजनमा भने पर्वतारोहणका साथै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको स्वास्थ्य प्रोटोकलसमेत पर्वतारोहणमा आउनेहरूले पालना गर्नुपर्नेछ । आजको आर्थिक अभियान दैनिकमा खवर छ ।