Logo

ओलीको अस्त्रः चुनाव



काठमाडौं, ३ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि चुनावलाई अस्त्रका रुपमा अघि सार्न खोजेका छन् । उनले आज राष्ट्रपति विद्यादेवी भण्डारीले डाकेको सर्वदलीय बैठकमा चुनावकै प्रस्ताव अगाडि सारे ।

प्रतिनिधि सभा विघटनको आफ्नो असफल भएको कदमलाई ओलीलृ पुनः बचाऊ गरे । उनले ताजा जनादेशमा जाने विषय उठाए ।

संसद पुनःस्थापनापछि ओलीको सत्ता संकटमा परेलगत्तै चुनावलाई फेरि अस्त्रका रुपमा सारेका हुन् । चुनावी सरकारको नेतृत्व कस्ले गर्ने भन्ने स्पष्ट नभएपनि ओली सत्तामै रहन चाहेको देखिन्छ ।

ताजा जनादेशका लागि सहमति बनाएर अर्को कुनै व्यक्तिमा समेत सहमति निकाल्ने विषयमा पनि छलफल बढाउन खोजिएको देखिन्छ । ओली सत्ताबाट नहट्न एकपछि अर्को राजनीतिक अस्त्र फालिरहेका छन् । पछिल्लो समय फेरि चुनावको अस्त्र फाल्नु अर्थपूर्ण छ ।

चुनावको विषय उठाएर ओलीले देउवालाई पनि खुशी पार्न खोजेको देखिन्छ । देउवा पनि अर्ली इलेक्शन चाहन्छन् । उनले कार्यकर्तालाई समेत चुनाव चाँडै हुने भएकाले तयार रहन भनेका छन् । चुनावको विषय उठाउँदा देउवाको पनि साथ लिनसक्ने ओलीको बुझाई हुनसक्छ । राजपा पनि चुनाव चाहिरहेको छ । चुनावमा गइहालेमा एमाले एक भइरहने र माओवादी केन्द्रसँग पनि सहकार्यको वातावरण बन्ने ओली पक्षको बुझाई देखिन्छ ।

सत्ता पनि जोगिने र एमाले पनि विभाजित नहुने गरी ओलीले रणनीतिक उद्देश्यले चुनावको अस्त्र फालेका छन् । तर, फेरि चुनावमा गइहाल्ने गरी कदम चाल्ने वातावरण बन्ने सम्भावना कमजो छ ।



प्रतिक्रिया दिनुहोस्