Logo

चरम गरिबीले उच्च शिक्षाबाट वञ्चित



म्याग्दी, चैत ५ । मालिका गाउँपालिका–२ रुम लुक्सिरका १६ वर्षीय केशव विक दैनिक ज्यालामजदुरीमा व्यस्त छन्। छिमेकी गाउँ निस्कोटमा आमा समूहको निर्माणाधीन भवनमा बुबा रनबहादुरसँगै काम गरिरहेका विक हातमा पुस्तक समातेर कक्षा ११ मा पढ्न जानुपर्ने समयमा सिकर्मीको परिचय बोकेर दैनिकजसो घर बनाउने काममा लागेका छन्। गत वर्षको एसइईमा विद्यालयबाट सबैभन्दा उत्कृष्ट नतिजा ‘बिप्लस’ ल्याएका विकले उच्च शिक्षा पढ्ने रहर भए पनि चरम गरिबीका कारण आफू पढ्नबाट वञ्चित भएको बताए।

‘घरबाट पढ्न जाने पैसा छैन। बुबाको कमाइले घरखर्च चल्छ। काम नपाउँदा आर्थिक संकट पर्दा भोकभोकै बस्नुपर्छ,’ विकले भने। उनले गाउँमा रहेको विद्यालयबाट एसइई दिए पनि उच्च शिक्षाका लागि दरबाङ र सदरमुकाम बेनी जाने खर्च जुटाउनसमेत दैनिक मजदुरीमा खटिएको बताए। ‘उच्च शिक्षा त मेरा लागि सपनाजस्तै हो। घरबाट पढ्न जाने अवस्था नै छैन, कमाएर पढ्नुपर्ने बाध्यता छ,’ विकले भने। उनले पोसाकमा चिटिक्क सजिएर पढ्न जाने समयमा हातमा हतौंडा लिएर हिँड्नुपरेको बताउँदै आफ्नो जस्तै समस्या बहिनीलाई हुन नदिन मजदुरी गरिहरेको बताए। विककी बहिनी गाउँमै कक्षा ९ मा अध्ययनरत छिन्। विपन्न रनबहादुरका ३ छोरा र ४ छोरी छन्।

रनबहादुरले छोरालाई सहर पठाउने पैसा नहुँदा ज्यालामजदुरीका लागि सँगै लैजाने गरेको बताए । नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्