Logo

ऊर्जामा विद्यावारिधि गर्ने डा शाही कर्णालीकै पहिलो



सुर्खेत, चैत ८ । कर्णाली प्रदेशबाट पहिलोपटक दिनेशकुमार शाहीले ऊर्जा विषयमा विद्यावारिधि गरेका छन् । विश्वकै उत्कृष्ट विश्वविद्यालयमध्येको एक मानिने जापानको टोक्यो सिटी विश्वविद्यालयबाट शाहीले विद्यावारिधि गरेका हुन् ।

ऊर्जाको खानी मानिने कर्णालीबाट ऊर्जामा विद्यावारिधि गर्ने शाही पहिलो व्यक्ति बनेका छन् । टोक्यो सिटी विश्वविद्यालयले शुक्रबार एक विशेष समारोह आयोजना गरेर शाहीलाई विद्यावारिधिको उपाधि प्रदान गरेको हो । नेपालको त्रिभुवन विश्वविद्यालयबाट गणितमा स्नातकोत्तरसमेत गरेका उनले विकासोन्मुख देशहरुले ऊर्जामा कस्तो नीति बनाउने भन्ने विषयमा गहन अनुसन्धान गरेका छन्।

रास्कोट नगरपालिका–५ कालीकोटको एक सामान्य परिवारमा जन्मिएका शाहीको यो अध्ययनले नेपालको ऊर्जा विकास र नीति निर्माणमा महत्वपूर्ण योगदान पुग्न सक्ने आशा गरिएको छ । विद्यावारिधि प्राप्तिपश्चात उनले भने, “कर्णालीजस्तो अत्यन्त न्यून गुणस्तरको प्रारम्भिक शिक्षा लिएर अत्यन्त उच्च प्रविधिको प्रयोग गरी गुणस्तरीय शिक्षा हासिल गरेका अन्तर्राष्ट्रिय क्षेत्रका व्यक्ति तथा अनुसन्धानकर्तासँगको प्रतिस्पर्धाबाट शिक्षा हासिल गर्न त्यति सहज भने पक्कै छैन । यद्यपि मलाई सधैँ केही नयाँ गरौँ र सिकौँ भन्ने कुरामा अलि बढी ध्यान हुन्छ ।”

विद्यावारिधिका क्रममा शाहीका अनुसन्धानमूलक दुईवटा सामग्री विश्वकै नम्बर एक जर्नल एल्सेभिरद्वारा प्रकाशित ‘इनर्जी एण्ड विल्डिङ’ र ‘विल्डिङ एण्ड इन्भारोमेन्ट’ मा प्रकाशित भएका छन् । साथै उनले विश्वविद्यालयबाट विश्वका धेरै गोष्ठी, सेमिनारमा सहभागी भएर आफ्ना प्रस्तुति दिईसकेका छन् ।
एल्सेभिर जर्नलमा प्रकाशित शाहीका आलेखमा घरमा प्रयोग हुने तथा समग्र ऊर्जाको तर्कसङ्गत प्रयोगका बारेमा उल्लेख गरिएको छ । उनको यो अध्ययन ऊर्जा क्षेत्रको बहसमा नयाँ अवधारणा मानिएको छ । विकसित देशहरुले गर्ने अत्यधिक ऊर्जाको प्रयोगले वातावररणमा अत्यन्त नकारात्मक असर परिरहेको बेला दिगो विकासको अवधारणाअनुसार ऊर्जा खपत र वातावरणीय सन्तुलन कसरी कायम गर्न सकिन्छ भन्ने विषयमा पनि उनले उनुसन्धान गरेका छन् ।

नेपालजस्ता विकासशील देशहरुले विकसित देशहरुले गरेको भूलबाट पाठ सिकेर नयाँ विधिबाट अघि बढ्नुपर्नेमा उनको निष्कर्ष छ । त्यसका लागि उनले तर्कसङ्गत अवधारणा पनि अघि सारेका छन् । विश्वमा सबैभन्दा बढी ऊर्जा घरायसी प्रयोजनमा खपत गरेको पाइन्छ । भविष्यमा नेपालमा पनि घरायसी प्रयोजनमा ऊर्जाको खपत बढ्नसक्ने अनुमान गर्दै उनले यसमा के गर्न सकिन्छ भन्ने कुरामा नयाँ अवधारणा अघि बढाइएको बताएका छन् । नेपालका धेरै जाडो हुने र अत्यधिक गर्मी हुने ठाउँमा घरहरुलाई सुधारेर घरभित्रको तापक्रम प्राकृतिक तरिकाले वृद्धि गरी २० प्रतिशतसम्म ऊर्जा बचत गर्न सकिने विधि पनि उनले अध्ययनमा देखाएका नछ्, जसलाई उनको अनुसन्धानको महत्वपूर्ण पक्ष ठानिएको छ ।रासस



प्रतिक्रिया दिनुहोस्