मोरङ, चैत ११ । जिल्लाको जोगवनीस्थित मुख्य नाका बन्द भएका कारण चहलपहल शून्य छ । कोरोना महामारीका कारण विगत १ वर्षदेखि जोगवनी नाका ठप्प छ ।
नाकामा ढाट लगाएर बन्द गरिएको छ । वारपार गर्नुपर्दा सुरक्षाकर्मीको अनिवार्य अनुमति लिनुपर्ने हुन्छ । औषधि खरिद गर्न वा विशेष काम परेको पुष्टि गर्न सके मात्रै शुरक्षाकर्मीले वारपार गर्न दिने गरेका छन् । भारतबाट नेपालतर्फ आउन नेपाली भए मात्रै पाइन्छ । मुख्य नाकाबाट नेपाल आउँदा अनिवार्य स्वास्थ्य परीक्षण गर्नुपर्ने हुन्छ । नेपाल प्रवेश गर्ने नाकामै स्वास्थ्य क्याम्प राखिएको छ ।
मुख्य नाकामा पुग्दा सरकारले सीमा निक्कै कडा गरेको भान हुन्छ । आवतजावत ठप्प पारिएको र स्वास्थ्य मापदण्डको पनि पालना गरिएको स्पष्ट हुन्छ । तर, बास्तविकता भने निक्कै फरक छ । मुख्य नाका ठप्प भएपनि चोरबाटोमा वारपार गर्नेको भीड थामिनसक्नुको छ ।
विराटनगरको दरैयावस्ती नाका र इस्लामापुर नाकामा आवतजावत गर्नेको भीड अत्याधिक छ । मुख्य नाका बन्द भएपछि इस्लामापुर, दरैयालगायतका स्थानबाट आवतजावत गर्ने र किनमेल गर्नेहरू वारपार गर्दै आएका छन् । भारतमा कोरोना संक्रमण बढेको समाचारहरू आइरहे पनि नेपालबाट भारततर्फ किनमेल गर्न जानेहरू स्वास्थ्य मापदण्डकोसमेत ख्याल नगरी आवतजावत गरिरहेका छन् ।
सीमानामा लागेको भीडले भारततर्फ कोरोनाको संक्रमण फैलिए नेपालतर्फ पनि महामारी अनियन्त्रित हुने स्पष्ट छ । सामानमा आवतजावत गर्नेको भीडले सीमाना जोडिएका स्थानीयहरू भने त्रसित छन् । विनारोकटोक वारपार गरिरहेको भीडले पहिलो निशाना सीमावर्ती क्षेत्रकै बासिन्दालाई बनाउने अवस्था देखिएको आजको नागरिक दैनिकमा खवर छ ।