Logo

पूर्वमन्त्री तथा काँग्रेस नेता नविन्द्रराज जोशीको निधन



काठमाडौं, चैत १३ । मस्तिष्क घातको उपचार गराइरहेका पूर्वमन्त्री तथा नेपाली काँग्रेसका नेता नविन्द्रराज जोशीको निधन भएको छ । जोशीको शुक्रबार राति ८:२४ बजे मृत्यु भएको हो ।

फागुन १४ गते शुक्रबार बिहान पौने ३ बजे शरीरको अंग नचलेपछि उनलाई वीर अस्पताल पुर्‍याइएको थियो । सोही दिन बिहान थप उपचारका लागि नर्भिक लगिएको थियो । आज उपचारका क्रममा नर्भिकमा उनको निधन भएको हो ।

नर्भिक अस्पतालका अनुसार जोशीलाई ‘थ्यालेमिक ह्यामरेज’ भएको थियो । यो भनेको मस्तिष्कको निकै संवेदनशील स्थानमा रगत जम्नु हो ।

२०३६ सालबाट विद्यार्थी राजनीति मार्फत राजनीतिमा होमिएका जोशीले नेविसंघको काठमाडौँ जिल्ला अध्यक्ष र केन्द्रीय महामन्त्रीको जिम्मेदारी सम्हालेका थिए  । जोशी राजनीतिक यात्राका क्रममा पटकपटक पक्राउ परेका थिए ।

त्री वी बाट एम.बी.ए. गरेका पूर्वमन्त्री तथा  सभासद जोशीका राजनीतिक लेख रचना पत्रपत्रिकामा प्रकाशित हुँदै आएका थिए। उनी गणेशमान सिंह अध्ययन प्रतिष्‍ठानका संस्थापक तथा अध्यक्ष पनि हुन्।

जाेशीको ५७ वर्षको उमेरमा आज निधन भएको हो । वि.सं. २०२० साल पुस २४ गते जन्मिएका स्वर्गीय जाेशीका श्रीमती र एक छाेरी छन् । जाेशीका दाजु राजुराज जाेशी कांग्रेसकाे सक्रिय राजनीतिमा रहेका थिए ।

गत संसदीय निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ८ बाट जाेशी वामगठबन्धनका उम्मेदवार जीवनराम श्रेष्ठसंग पराजित भएका थिए । पहिलाे र दाेस्राे संविधानसभाकाे निर्वाचनमा भने जाेशी साेही क्षेत्रबाट निर्वाचित भएका थिए ।

२०३६ सालकाे विद्यार्थी आन्दोलनबाट सक्रिय राजनीतिमा उदाएका जाेशी २२ वर्षको उमेरमै नेपाल विद्यार्थी संघको महामन्त्री बनेका थिए । २०४९ सालकाे स्थानीय निर्वाचनमा कांग्रेसका तर्फबाट काठमाडौं महानगरपालिकाकाे उप मेयरमा निर्वाचित भएका जाेशी प्रचण्ड नेतृत्वको माओवादी-कांग्रेस गठबन्धन सरकारमा उद्योग मन्त्री बनेका थिए ।



प्रतिक्रिया दिनुहोस्