काठमाडौं, चैत १६। नेपाली काँंग्रेसले आगामी भदौमा हुने १४औँ महाधिवेशनका क्रियाशील सदस्यताको विवरण अत्याधुनिक प्रविधिको प्रयोग गरेर तयार पारिरहेको छ । ६९ जिल्लामा ३२१ जना कम्युुटर अपरेटरबाट विवरण अद्यावधिक गर्न कार्य भइरहेको छ ।
सातवटै प्रदेश, ७७ जिल्ला, ७५३ स्थानीय तह र हाल कायम छ हजार ६४३ वडामा नै क्रियाशील सदस्यताको वितरण तयार गरिने छ । यसले जातीय, लिङ्गीय हरेक हिसाबले अभिलेख तयार गरिनेछ । तयार पारिएको विवरणबाट एक मिनेटमा कुनै जिल्लाको कुनै वडामा के–कति काँग्रेसका क्रियाशील सदस्य छन् भन्ने हेर्न सकिनेछ ।
पार्टीका उपसभापति विमलेन्द्र निधिले काँग्रेसले क्रियाशील सदस्यताको विवरण आधुुनिक प्रविधिको प्रयोग गरेर अद्यावधि गरिरहेको बताए । संविधान सभाबाट संविधान जारी भएपछि नयाँ संविधान र राजनीतिक दलसम्बन्धी ऐनले तोकेअनुसारको समावेशी अवधारणाअनुसार पार्टीको विधान तयार गरेको जानकारी पनि उनले बताए ।
देशका ६९ जिल्लामा क्रियाशील सदस्यताको विवरण अद्यावधिक गर्न ३२१ जना व्यक्ति एकै पटक काम गरिरहेका छन् । पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले यसरी आधुुनिक प्रविधिको प्रयोग गरेर अभिलेख राख्ने काँग्रेस पहिलो दल भएको दाबी गरे ।
इन्टरनेट प्रविधिमा आधारित आधुनिक प्रणालीमा सबै क्रियाशील सदस्यको विवरण राखेपछि ९० वर्षभन्दा माथिका कति पुरुष वा कति महिला छन् भन्ने तथ्याङ्क निकाल्न सजिलै सकिनेछ । महिला, जनजाति, आदिवासी, युवा कति छन् भनेर सजिलै थाहा पाउन सकिने छ । गोरखापत्र दैनिकबाट