Logo

पूर्वाधारका १५ सय आयोजनाको म्याद थप भएन



काठमाडौं, चैत १७ । पूर्वाधार निर्माणका साना ठूला गरी १ हजार ५०० भन्दा बढी आयोजना म्याद थपबाट वञ्चित भएको पाइएको छ । सरकारले चैतदेखि भदौसम्म बन्दाबन्दीको अवधि मानी निर्माणाधीन र सोही अवधिभित्र म्याद सकिएका आयोजनाको हकमा मात्रै लागू हुने गरी गत माघ दोस्रो हप्ता ६ महीनाका लागि म्याद थप गरिदिएको थियो । तर, भदौदेखि यता र माघसम्ममा म्याद सकिएका ठेक्काहरूले भने यस्तो सुविधा पाउन सकेका छैनन् ।

२०७६ चैतदेखि साउन र त्यसको १ महीनासम्म कोरोना भाइरस (कोभिड–१९)लाई न्यूनीकरण गर्न सरकारले बन्दाबन्दी र निषेधाज्ञा जारी गरेको थियो । यसबीचमा पूर्वाधार निर्माण प्रभावित भएको भन्दै सरकारले ६ महीना म्याद थप्ने निर्णय गत असारमा गरेको थियो ।

यो निर्णय त्यसको ७ महीनापछि कार्यान्वयन गरिएको थियो । नेपाल निर्माण व्यवसायी महासंघले भदौदेखि माघको पहिलो हप्तासम्म म्याद सकिएका ती १ हजार ५ सय आयोजनामा यो निर्णय कार्यान्वयन नभएको उल्लेख गरेको छ । आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्