काठमाडौं, चैत २५ । राष्ट्रिय जनमोर्चाको चौथो राष्ट्रिय सम्मेलन मंगलवारदेखि बुटवलमा शुरू भएको छ ।सम्मेलनको राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले उद्घाटन गर्दै प्रधानमन्त्री केपी ओलीले पुनःस्थापित संसद् फेरि विघटन गर्ने षड्यन्त्र शुरु भएको बताएका छन् । अध्यक्ष केसीले संसद्लाई बिजनेस नदिएर कामविहीन बनाउन खोजेको आरोपसमेत लगाएका छन् ।
उनले आफैंले विघटन गरेको संसद्लाई बिजनेस दिन अप्ठ्यारो भएमा नैतिकताका आधारमा राजीनामा दिन प्रधानमन्त्रीलाई सुझाव दिए ।अदालतको फैसला आउँदा साथ राजीनामा दिनुपर्नेमा प्रधानमन्त्रीले उल्टै मुद्दा जिते जस्तो गरी हिँड्नु लज्जास्पद भएको टिप्पणी अध्यक्ष केसीको भनाई छ। मुलुकमा प्राप्त उपलब्धि अझै पनि गुम्न सक्ने खतरा भएको दाबी गर्दै उनले अब बन्ने सरकारको नेतृत्व पनि विदेशी शक्ति केन्द्रहरुको चाहनामा बन्ने संकेत गरे। ‘कम्फर्ट सरकारको कुरा बाहिर आइरहेको छ । यो भनेको भारत अमेरिका तथा चीनको समर्थनमा बन्ने सरकार हो ।’ –केसीले दाबी गरे।
‘नेपाली जनताले चाहेको सरकार होइन, विदेशी दलालहरुले चाहेको सरकार बनाउने प्रयास भइरहेको छ । आफूलाई राष्ट्रवादी भन्नेहरुले समेत कम्फर्ट सरकारको नाममा विदेशी दलालहरुकोे पक्षमा अवकालत भइरहेको उनको आरोप रहेको आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।